मनसुन प्रणाली भारत,बंगलादेश र भुटानसम्म आइपुग्यो, नेपाल आउन केही दिन लाग्ने

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी,बंगलादेश र भुटानसम्म आइपुगेको जनाएको छ। महाशाखाका अनुसार नेपालको पूर्वी भू-भाग कोशी प्रदेशमा मनसुन भित्रनका लागि अझै केही दिन लाग्नेछ।

‘नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । हाल यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भू-भाग, बङ्गलादेश र भुटान सम्म आईपुगेको छ। नेपालको पूर्वी भू-भाग कोशी प्रदेशमा मनसुन भित्रनको लागि अझै केही दिन लाग्ने देखिएको छ,’ महाखाशाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुनी प्रणालीलाई निरन्तर अनुगमन गरिहेको छ।

विगत केही दिनदेखि देशका अधिकांश भू-भागहरू विशेषगरी मध्य तथा पश्चिमी भू-भागमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ। देशका मध्य तथा पश्चिम तराईका भू-भागमा लगातार अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ।

यस वर्ष मनसुनी वर्षाको आगमन पनि औसत मिति जुन १३ तारिख भन्दा एक /दुई दिन ढिला हुने संभावना देखिएको महाशाखाले जनाएको छ।महाशाखाका अनुसार आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस