४२ किलोमिटर टाढाकाे कोकाहा खोलाबाट पानी ल्याएपछि खुसीले राेए मेयर साम्पाङ

सुनसरी — सुख्खायाममा चारदेखि ६ महिना काकाकुलको नियति भोग्नु धरानबासीका लागि अघोषित रुपमा वार्षिक क्यालेन्डर नै हो । तर, यसपटक सम्भवतः इतिहासमै सबैभन्दा बढी पानीको हाहाकार भोगिरहेका छन् धरानबासी ।

जबकी खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न भनेर एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा भूमिगत खानेपानी पनि सञ्चालनमा छ ।

स्वतन्त्रबाट विजयी भएलगत्तै खानेपानी अभियानलाई तिव्रता दिएका धरान उपमहानगरका प्रमुख हर्कराज राईलाई ‘सम्झेर’ स्वदेश र विदेशका हजारौं दाताहरू र संघसंस्थाले करिब चार करोड रुपैयाँभन्दा बढी रकम पनि पठाइसकेका छन् । खानेपानीकै लागि भनेर दाताहरूले रकममात्र नदिएर जिन्सीको रुपमा लाखौं रुपैयाँका पाइपसमेत खरिद गरेर दिएका छन् ।

धरान आसपासका खोलाखोल्सीहरू पकुवा, निसाने र भालुखोला छान मारेर पाइपलाइनसमेत विस्तार भएका छन् । विभिन्न ठाउँमा पानी संकलनका लागि इन्टेक ट्यांकी पनि निर्माण भएका छन् । धरान खानेपानी बोर्डमा नेपाल खानेपानी संस्थानको धरान शाखा समाहित भइसकेको छ ।

संस्थानले सर्दु–खर्दु मुहानबाट हिउँदमा दैनिक करिब ४० लाख लिटर र चारकोसे जंगलमा जडान गरेको पाँचवटा डिप ट्युबेलबाट आवश्यक खानेपानी आपूर्ति गर्दै आएकोमा धरान खानेपानी आयोजनाअन्तर्गतको धरान खानेपानी व्यवस्थापन बोर्डमातहतको सातवटा डिप ट्युबेलले दैनिक खानेपानी आपूर्ति गर्दै आएको दाबी गरिएको छ ।

खानेपानीका लागि दाताबाट संकलन भएको करिब ४ करोड रुपैयाँले तीन साना खोलाखोल्सीबाट पानी ल्याइएको र दुई अर्ब रुपैयाँभन्दा बढी लागतको धरान खानेपानी आयोजना पनि सञ्चालनमा रहेको भनिएको बेला धरानमा पानीको चरम अभाव हुनु प्राविधिक कमजोरीमात्र नभएर जनप्रतिनिधिको बेवास्ताका कारण भएको आरोप लाग्न थालेको छ । बोर्ड, प्रमुख हर्कराज राई, उपमहानगरपालिका र जनप्रतिनिधिमाथि नै प्रश्न गर्न थालेका छन् स्थानीय उपभोक्ताहरू ।

प्रतिक्रिया दिनुहोस