मनसुन बंगलादेश र भुटानसम्म आइपुग्यो, नेपाल भित्रिन अझै केही दिन लाग्ने

गत वर्ष औसतभन्दा एक साताअघि नै मनसुन भित्रिएर वर्षा भए पनि यसपटक ढिलो हुने देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले यस वर्षको मनसुन प्रणाली भारतको उत्तर पूर्वी भूभाग, बंगलादेश र भुटानसम्म आइपुगेको र नेपालको पूर्वी भूभाग (कोसी प्रदेश)मा भित्रन अझै केही दिन लाग्ने देखिएको बताए।

‘३० वर्षको औसत अवधि हेर्दा भोलि (मंगलबार)सम्म मनसुन भित्रिसक्नुपर्ने हो। तर, यसपटक केही ढिलो हुने देखिएको छ,’ मौसमविद् पौडेलले भने, ‘बुधबार, बिहीबारसम्म भित्रिन सक्छ ।’ मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको बुलेटिनमा उल्लेख छ ।

यसपटक मनसुन भित्रिएसँगै देशभर सक्रिय भएर वर्षा हुन्छ वा समय लाग्छ भनेर मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरिसकेको छैन । मनसुनी वायु पूर्वबाट पश्चिम बहने भएकाले सामान्यतयाः देशभर फैलन एक हप्ता लाग्ने हुन्छ । तर, गत वर्ष भने मनसुन भित्रिएसँगै वर्षा भएको थियो ।

१२५ मापन केन्द्रमा वर्षा रेकर्ड
मनसुन भित्रिनै लाग्दा मुलुकमा क्रमशः वर्षाको दर बढ्न थालेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा एक सय २५ वटा मापन केन्द्रमा वर्षा मापन भएको छ। 

जसमध्ये सबैभन्दा बढी वर्षा खोटाङको दिक्तेलमा २०५।४ मिलिमिटर वर्षा मापन भएको छ। दुईवटा केन्द्रमा सय मिलिमिटरभन्दा धेरै वर्षा भएकोे छ।

वर्षा मापन गरिएका केन्द्रमध्ये ६३ वटामा १० मिलिमिटरभन्दा बढी, ३७ वटामा २५ मिलिमिटरभन्दा बढी, १३ वटामा ५० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको विभागले जनाएको छ।

मुलुकमा दुई सय ६५ वटा वर्षा मापन केन्द्र छन्। आइतबार भने ५७ केन्द्रमा मात्र वर्षा रेकर्ड भएको थियो, जसमा सबैभन्दा बढी वर्षा दोलखाको जिरी केन्द्रमा ७४।४ मिमि थियो। त्यसअघिल्लो दिन ४० वटा केन्द्रमा वर्षा मापन हुँदा झापाको अनारमनी बिर्ता केन्द्रमा ६३।२ मिलिमिटर वर्षा रकर्ड भएको थियो।

कहाँ–कहाँ हुँदै छ वर्षा ?
पछिल्लो एक घन्टामा काठमाडौं, भक्तपुर र ललितपुरका केही क्षेत्रसँगै सिन्धुली, कास्की, नवलपुरमा हल्का वर्षा भएको छ। १२ घन्टाको विवरण हेर्दा पूर्वी तराईको झापा, मोरङमा वर्षा हुँदा पूर्वी पहाडका लगभग धेरैजसो क्षेत्रमा वर्षा भएको छ। त्यस्तै, पहाडी क्षेत्रमा काठमाडौं वरपरका क्षेत्रसहित पोखरासम्म वर्षा भएको छ। 

तर, तराई क्षेत्रमा मधेस प्रदेशसहितको पश्चिम क्षेत्र ९नवलपुर र आसपासका केही क्षेत्रबाहेक०मा वर्षा हुन सकेको छैन भने पहाडी भेगमा कास्कीदेखि पश्चिमको क्षेत्रमा पनि पानी पर्न सकेको छैन। यद्यपि, ती क्षेत्रका केही स्थानमा बदली भने रहेको छ। 

पछिल्लो १२ घन्टामा गोरखा र लमजुङ क्षेत्रमा मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले पश्चिमी  वायुका साथै भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीका कारण वर्षा भइरहेको र यसले तापक्रम घटाउँदा जनजीवन सहज बन्दै गएको बताए।

प्रतिक्रिया दिनुहोस