पौष्टिकले भरिपूर्ण काजू एक दिनमा कति खाने ? कति वटा खानुलाई बढी मान्ने ?

काठमाण्डौं, २३ असार । ड्राई फ्रुट्समा काजू अत्यधिक रुचाइन्छ । स्वादिलो हुनुका साथै यसले स्वास्थ्यमा पनि अचम्मको फाइदा पु¥याउँछ । कतिपयलाई काजू यति मन पर्छ कि एकै पटक १०–१५ पनि खाइदिन्छन् । यद्यपि, कुनै पनि कुरा सीमित मात्रामा र सही समयमा खाँदा मात्रै बढी लाभ मिल्छ । कोहीलाई काजु थोरै भुटेर खान मन पर्छ भने कतिलाई यत्तिकै । काजूको प्रयोग खीर, सेवइ, हलुवा, मिठाई आदिमा बढी हुने गर्छ । यद्यपि, काजू कति मात्रामा खाने र कहिले खाने भन्नेबारे पनि थाहा पाउनु उत्तिकै जरुरी छ ।

काजूमा पाइने पौष्टिक तत्त्व

काजूमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, भिटामिन ए, सी, ई, के, बी६, नियासिन, रिबोफ्लेभिन, कपर, फस्फोरस, हेल्दी फ्याट, पोटासियम, आइरन, क्याल्सियम, म्याग्नेसियम जस्ता धेरै पोषक तत्त्वहरू पाइन्छन् । यी सबै पोषण स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छन्, जसले धेरै रोगहरूलाई टाढा राख्छ । शरीरलाई स्वस्थ राख्छ ।

एक दिनमा कति काजू खाने ?

फिसरइन्स्टिचुट डट कममा प्रकाशित समाचार अनुसार काजूको अत्यधिक सेवनले तौल बढ्न सक्छ । त्यसैले तपाईंले दैनिक ५ देखि १० वटा काजु मात्रै खानुहोस् । यदि तपाईं हेल्दी फ्याट र प्रोटिनको स्रोतको रूपमा यसका सेवन गर्दै हुनुहुन्छ भने तपाईंले १० देखि ३० वटा काजू खान सक्नुहुन्छ । यद्यपि, तपाईंले कुनै विज्ञ वा डायटिसियनसँग यसबारे सल्लाह लिएर मात्रै काजू खाँदा राम्रो हुन्छ ।

काजू कति वटा खानुलाई बढी मान्ने ?

एक दिनमा ४० भन्दा बढी काजू खानु अस्वस्थकर मानिन्छ । यद्यपि, खेलाडीहरूले ३०–४० वटा काजू खान सक्छन् किनभने उनीहरूको मेटाबोलिजम उच्च हुन्छ । उनीहरुले साधारण मानिसको तुलनामा शारीरिक परिश्रम पनि बढी गर्ने भएकोले साधारण मानिसभन्दा अलि बढी खान सक्छन् ।

काजू खानुका फाइदा

काजूमा अनस्याचुरेटेड फ्याट र केही आवश्यक खनिजहरू जस्तै तामा, म्याग्नेसियम, जिङ्क, फलामका साथै भिटामिन के, ई र बी भिटामिनहरू हुन्छन् । केही अध्ययनले बताए अनुसार काजूजस्ता नट्सको सेवनले रक्तचाप र कोलेस्ट्रोलको स्तर कम हुन्छ । यसले मुटुरोगको सम्भावना निकै हदसम्म कम हुनसक्छ । यसबाहेक काजूमा पाइने केही भिटामिन र मिनरल्स जस्तै पोटासियम, भिटामिन ई, भिटामिन बीसिक्स र फोलिक एसिडले कडा रोगको सम्भावनालाई निकै हदसम्म कम गर्छ ।

काजू धेरै खानुका बेफाइदा

यदि तपाईं दिनमा १० वटा भन्दा बढी काजू खानुहुन्छ भने, यसले शरीरलाई धेरै हानि पुर्‍याउन सक्छ । धेरै काजू खाँदा तौल बढ्न सक्छ । यसका साथै टाउको दुख्ने, एलर्जी, चिलाउने, बान्ता हुने, वाकवाकी लाग्ने, पेट दुख्ने, पेट फुल्ने आदि समस्या पनि देखा पर्न सक्छन् । नट्ससँग एलर्जी भएकाहरूले पनि यसलाई खानु हुँदैन । यसमा क्यालोरी र फ्याट बढी हुन्छ, यस्तो अवस्थामा यसको धेरै मात्रामा सेवन गर्दा तौल बढ्ने खतरा हुन्छ । यदि तपाईं तौल नियन्त्रण गर्न खोज्दै हुनुहुन्छ भने, यसलाई सीमित मात्रामा सेवन गर्नुहोस् । ५–१० खाँदा तौल बढ्दैन, किनभने यसमा गुड फ्याट हुन्छ । यदि तौल बढाउन चाहनुहुन्छ भने दैनिक ३०–४० ग्राम खानु प्रभावकारी हुनसक्छ ।

काजू खाने सही तरिका के हो ?

यदि तपाईंलाई काजू खान धेरै मन पर्छ भने यसलाई पानीमा भिजाएर खानु राम्रो हुन्छ । यसलाई राती भिजाएर बिहान खानुहोस् । यसको प्रभाव तातो हुने भएकाले गर्मीमा सीमित मात्रामा मात्रै खानुहोस् । मदिरासँग काजू कहिल्यै नखानुहोस् । यसो गर्नाले कोलेस्ट्रोलको स्तर उच्च हुन सक्छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस