अफगानिस्तानका सबै ब्युटी पार्लर स्थायीरूपमा बन्द

काबुल— तालिबान सरकारको चेतावनीपछि अफगानिस्तानका सबै ब्युटी पार्लरहरू स्थायीरूपमा बन्द भएका छन् । तालिबान सरकारले मङ्गलवार भित्र देशभरका ब्युटी पार्लर बन्द गर्न आदेश दिएको थियो ।

सन् २०२१ को अगस्ट महिनामा सत्ता कब्जा गरेको तालिबानले महिलालाई विद्यालय र विश्वविद्यालय जानबाट यसअघि नै रोक लगाइसकेको छ । यस्तै पार्क, जिमखाना र मनोरञ्जनका क्षेत्रमा पनि महिलालाई रोक लगाएको छ ।

ब्युटी पार्लरका कारण अनुत्पादक क्षेत्रमा पैसा खर्च भएको र कतिपय इस्लामिक कानुनको समेत उल्लङ्घन भएको भन्दै तालिबानले पार्लर बन्द गराएको समाचार संस्था एएफपीले जनाएको छ ।

अफगानिस्तानमा १२ हजार ब्युटी पार्लरमा ६० हजार जना महिलाले रोजगारी पाएको अनुमान छ । उनीहरूको आयआर्जनको एकमात्रै स्रोत ब्युटी पार्लर भएकाले बन्द भएपछि अब बेरोजगारी बढ्ने जोखिम छ ।

अफगानिस्तानमा ब्युटी पार्लर रोजगारीका लागि मात्र नभई सामाजिकीकरणको पनि एकमात्र विकल्प थियो ।

ब्युटी पार्लर बन्द गराउने आदेशको विरोधमा गएको हप्ता महिलाले प्रदर्शन गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास र हवाई फायर गरेका थिए । तालिबानले सत्ता कब्जा गरेयता अफगानिस्तानमा हजारौँ महिलाले जागिर गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस