सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धान सिआइबिलाई नै गर्न दिन आग्रह गर्नुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले विमानस्थलबाट तस्करी भएको क्विन्टल सुन प्रकरणको अनुसन्धान सिआइबिलाई गर्न दिन आग्रह गर्नुभएको हो । उहाँले संगठित अपराधमा अनुसन्धान गर्न ६० दिन समय हुने र अब सिआइबिले अनुसन्धानका लागि ३५ दिन पाउने उल्लेख गर्दै ३५ दिनमा अनुसन्धान सकेर दोषिलाई कानूनी दायरामा ल्याउने बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले सिआइबिले अपराधि लुकाउने र्दुनियत देखायो भने मात्र छानविन समिति बनाउने विषयमा छलफल गर्न सकिने बताउनुभयो । विगतमा बनाइएको संसदीय छानविन समितिले हराएको सुन भेट्टाउन नसकेको तथा समितिको प्रतिवेदन समेत कार्यान्वयन नभएको भन्दै उहाँले राज्यको संयन्त्रलाई नै अनुसन्धानको जिम्मेवारी दिनुपर्ने बताउनुभयो । गृहमन्त्री श्रेष्ठले सरकारले दोषिलाई पहिचान गरी कारबाही प्रक्रियामा ल्याइ छाड्ने भन्दै त्यसको निम्ति सकारात्मक वातावरण बनाइदिन आग्रह गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले भेपमा सुन तस्करी प्रकरणको फाइल आफ्नो टेबलमा आइनपुगेको पनि स्पष्ट पार्नुभयो । उहाँले आफुले सो प्रकरणको पनि निष्पक्ष अनुसन्धान गरेर तथ्य, प्रमाणले देखाए अनुरुपको अभियोजनको प्रक्रियामा जान प्रहरीलाई निर्देशन दिएको बताउनुभयो । आफु व्यक्ति विशेषलाई जोगाउन नलागेको भन्दै उहाँले माओवादी केन्द्रकै मान्छे भएपनि दोषि देखिएमा नछुट्ने बताउनुभयो । उहाँले प्रमाण पुगेकाहरु कोही नउम्किने बताउनुभयो ।

उहाँले ललिता निवास जग्गा प्रकरणको सम्बन्धमा सर्वोच्च अदालतले दिएको पछिल्लो फैसलाले अनुसन्धानलाई अगाडी बढाउन थप आधार प्रदान गरेको बताउनुभयो । उहाँले सो प्रकरणको अनुसन्धान जारी रहेको बताउनुभयो । अदालतको आदेशलाई सकारात्मक रुपमा लिनुपर्ने भन्दै उहाँले यसको पनि स्वच्छ र निष्पक्ष ढंगले अनुसन्धान गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस