काठमाडाैं र भक्तपुरबाट ५२ लाख ७५ हजार एक हजार दरका नक्कली नोटसहित नौ जना पक्राउ

काठमाडाैं र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ परेका छन्।

काठमाडौं प्रहरी परिसरले शुक्रवार पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो। साउन २५ गते बिहीवार (हिजो) लु १ प ५ नम्बरको पर्यटक बसलाई नाकढुंगा चेकपोष्टमा चेकजाँच गर्ने क्रममा डिक्कीमा चाउचाउको कार्टुनमा प्याक गरी राखिएको अवस्थामा सो नक्कली नोट बरामद गरिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।

त्यसपछि सो बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधुपुछ गर्दै जाने क्रममा बालाजु बसपार्क र भक्तपुरको बुढाथोकी गाउँबाट थप १७ लाख दुई हजार रुपैँया हजार दरका नक्कली नोट बरामद गरिएको थियो।

एसएसपी कार्कीले भने, ‘उनीहरुबाट ५२ लाख ७५ हजार रुपैयाँ नक्कली नोट बरामद गरिएको छ। उनीहरुलाई मुद्रा कसुरमा मुद्दा दायर गरिनेछ।’

सिन्धुपाल्चोकका अर्जुन सुवेदीको डेराबाट सो नक्कली नोट बरामद गरिएको थियो। सो नक्कली नोटको कारोबारमा सिन्धुपाल्चोकका अर्जुन सुवेदी, सुशील कार्की, मिलन भण्डारी, शिव भण्डारी, कृष्ण भण्डारी, झापाका युवराज राई, अछामका अर्जुन बुढा, गुल्मीका सागर आचार्य र नवलपरासीकी पार्वती नेपाली रहेकी छन्। उनीहरुलाई मुद्रा कसुर अन्तरगत मुद्दा चलाउने पनि प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस