अफगानिस्तानमा ३० प्रतिशत पुस्तक पसल बन्द

काबुल— अफगानिस्तानका ३० प्रतिशत पुस्तक बिक्रेताले राम्रो बजार नहुँदा व्यवसाय बन्द गरेको अफगानिस्तानस्थित टोलो न्यूजले जनाएको छ ।

अब्दुल वोदोद मुख्तारजादाले टोलो न्युजसँग कुरा गर्दै भने— पुस्तक बिक्रेताले आफ्नो व्यवसायमा आएको विक्री ह्रासका कारण कर तिर्न धौँ धौँ भएका कारण पुस्तक पसलहरु बन्द हुँदै गएका छन् ।

मुख्तारजादाले दैनिक ५०० भन्दा बढी किताब बेच्ने गरेको अनुभव सुनाए । यहाँ २ सय पुस्तक पसल भएकोमा अहिले हातको औँलामा गन्न मिल्ने बताए ।

अफगानिस्तानमा पुस्तक पढ्ने संस्कृति हराउँदै गएकोमा धेरै पुस्तक विक्रेताहरूले चिन्ता व्यक्त गरेका छन्। पुस्तक बिक्रेता शरीफउल्लाहले भने, ‘विश्वविद्यालयमा छात्राको उपस्थिति नहुँदा समस्या भएको छ ।’

पुस्तक बिक्रेता मन्सुर काजीजादाले भने, ‘बजार खस्किएको छ र जनतामा किताब किन्न सक्ने क्षमता छैन । साथै, त्यहाँ धेरै प्रकारका करहरू लागू गरिएको छ र कर उठाउन काबुल नगरपालिकाले आफ्ना प्रतिनिधि पठाउँछ।’

यसैबीच, तालिबान नेतृत्वको सूचना र संस्कृति मन्त्रालयले अफगानिस्तानमा पुस्तक बजारलाई समर्थन गर्न पुस्तकालयहरूको कर माफी गर्ने प्रयास भइरहेको जनाएको उल्लेख गरेको छ ।

तालिबान नेतृत्वको सूचना र संस्कृतिका प्रकाशनका उपमन्त्री महजर फराहीले भने, ‘हामी किताबमा कर माफ गर्ने प्रयास गरिरहेका छौं र यसरी पुस्तक पढ्ने परम्परा लागू गर्न सक्छौं। हामीले विभिन्न प्रदर्शनीहरू आयोजना गर्दै आएका छौँ ।’

विगत दुई वर्षमा पुस्तक बेच्ने व्यवसायको स्थिरताले काबुल र अफगानिस्तानका वरपरका क्षेत्रहरूमा पुस्तक विक्रेताहरू चिन्तित भएका छन्, जसले नियमित रूपमा आफ्नो चिन्ता व्यक्त गरेको टोलो न्यूजले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस