रोशनीले मृत्युअघि श्रीमानलाई अस्पतालमा भन्दै थिइन्- सरी सानु गल्ती गरें

पोखरा । पोखराकी सञ्चारकर्मी रोशनी क्षेत्री नागपञ्चमीका दिन सोमबार बिहान सवा ८ बजे साथीसँगै पोखरा ८ जाल्पारोडस्थित घर आइपुगिन् । अघिल्लो रात घरबाहिर बसेकी उनी भित्र पस्नै लाग्दा सासूसँग ठाकठुक पर्यो

‘नागपञ्चमीका दिन रोशनीकी सासू घर सफा गर्दै हुनुहुन्थ्यो । रोशनी जुत्ता लगाएरै घरभित्र पसिन् । त्यसमा केही विवाद भएको रहेछ’, परिवारनिकट स्रोतले भन्यो । त्यसपछि उनी साथीलाई लिएर स्कुटरमा घरबाट निस्किइन् । साथीलाई पोखरा ७ मा पर्ने मदरल्यान्ड माध्यमिक विद्यालयमा छोडेर फर्किइन् ।

फर्किंदा उनले स्कुटरमा १ बोतल पेट्रोल ल्याएकी रहिछन् । उनी पेट्रोलसहितको बोतल र सलाई लिएर घरको गेटभित्र पसिन् । फटाफट जिउमा पेट्रोल खन्याइन् र सलाई कोरेर आगो झोसिहालिन् ।

केही बेरमा घरपरिवार र छिमेकी थाहा पाए । हत्तपत उनको जिउमा लागेको आगो निभाइयो । छिमेकी र आफन्तले अस्पताल लैजान खोज्दा उनी मानिनन् ।

उनी भन्दै थिइन्- म मर्न चाहन्छु । अस्पताल, सस्पताल जान्नँ । परिवार र छिमेकीले जबरजस्ति अस्पताल लगे ।

अस्पताल पुग्दासम्म उनी सामान्यरुपमै बोल्न सक्थिन् । आफूलाई भेट्न गएकाहरुलाई ‘सरी’ भनिरहेकी थिइन् । श्रीमानलाई अस्पतालमा ‘सरी सानु, मैले गल्ती गरें’ भनेको प्रत्यक्षदर्शीहरु बताउँछन् । पहिला सामान्यरुपमै कुराकानी गरेकी उनको शरीर सुन्निँदै गयो । अवस्था गम्भीर हुँदै गयो ।

गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएकी रोशनीको उपचार सम्भव नभएको अस्पतालले जानकारी दियो । उनलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारीसमेत भएको थियो । तर, मौसम नखुल्दा त्यो सम्भव भएन ।

अस्पतालका अनुसार उनको करिब ६५ प्रतिशत शरीर जलेको थियो । दिउँसो १ बजेपछि उनी बोल्न नसक्ने अवस्थामा पुगिन् । उनको अवस्था झनै जटिल बन्यो । अस्पतालले भेन्टिलेटरमा राख्न आग्रह गरेपछि रोशनीका आफन्तले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगे । तर, त्यहाँ पनि उनको उपचार सम्भव भएन । अन्तत मंगलबार बिहानै उनी सदाका लागि अस्ताइन् ।

रोशनी घटनाको दुई दिनअघि राति रोएको छिमेकीले सुनेका थिए । अर्को दिन बिहान १२ बजे निस्किएकी उनी नागपञ्चमीका दिन बिहान सवा ८ बजे मात्र घर आएकी थिइन् । परिवारिक स्रोतका अनुसार उनी गर्भवतीसमेत थिइन् ।

आफैंले आवेशमा आएर आत्मदाह गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । वडा प्रहरी कार्यालय बैदामका प्रहरी उपरीक्षक  वेदप्रकाश जोशीले प्रारम्भिक अनुसन्धानबाट आवेशमा आएर आफैंले पेट्रोल छर्किएर आगो लगाएको देखिएको बताए । शव पोस्टमार्टममा लागि रोशनीका माइती र घर पक्ष दुवैले प्रहरीलाई निवेदन दिएका छन् ।

रोशनीलाई उपचारार्थ अस्पताल पुर्याइएपछि पुगेकी पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी आफूले भेट्दासम्म सामान्य कुराकानी गर्न सक्ने अवस्थामा रहेको बताउँछिन् ।

भण्डारीले भनिन्, ‘उहाँसँग कुरा गर्दा ‘सरी दिदी मैले गल्ती गरें’ भन्नुभयो । उहाँले आमा बुबालाई पनि सरी भन्नुभएको थियो । बैनीले किन यस्तो गर्नुभयो भन्ने कुरा त अनुसन्धानबाट खुल्ने कुरा हो ।’

चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी रोशनीले यसअघि कास्कीकै माछापुच्छे« एफएम, परिचय डटकम, अन्नपूर्ण एफएम लगायत मिडियामा काम गरेकी थिइन् । ७ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी पत्रकारितामै स्नातकोत्तर गर्दै थिइन् ।

प्रतिक्रिया दिनुहोस