चीनसँग प्रधानमन्त्रीले गरेको सम्झौता देशको हितमा छ, गठबन्धनको साथ छ : कार्यबाहक प्रधानमन्त्री खड्का

सुर्खेत । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण सफल भएको र चीनसँग भएको सम्झौता देशको हितमा भएको बताएका छन् ।

आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस उपसभापतिसमेत रहेका खड्काले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सफल भएको र यो सम्झौताप्रति प्रधानमन्त्रीको साथमा गठबन्धन रहेको बताए । बेल्ट एन्ड रोड (बीआरआई) मा सत्ता गठबन्धन दलको सहमतिमै प्रधानमन्त्रीले चीनसँग सहमति जनाएको जानकारी उनले दिए।

‘चीनसँग भएका सबै सहमतिमा गठबन्धनमा रहेका दलहरुको सहमति छ। हामी सबैको सहमतिमै प्रधानमन्त्रीले चीनसँग ती सहमति र सम्झौता गर्नुभएको हो।’ कार्यवाहक प्रधानमन्त्री खड्काले स्पष्ट पारे ।

अर्को प्रशंगमा खड्काले संघीयता कार्यान्वयन गर्ने प्रक्रियाबाट सरकार पछि नहट्ने पनि बताए। ‘सरकार संघीयता कार्यान्वयन गर्नेमा दृढ छ,’ खड्काले भने।

‘संघीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयन गर्न सरकार दृढ छ,’ खड्काले भने, ‘संघीय शिक्षा ऐन संसदमा टेबुल भइसकेको छ, सम्बन्धित मन्त्रालयले निजामति र प्रहरी ऐन तयारी गरेर संसद्‌मा दर्ता गर्ने तयारी गरिरहेका छन्।’ संघीय सरकारले कानुन नबनाउँदा नागरिकले प्रत्यक्ष रुपमा संघीयताको अनुभूति गर्न नपाएको उनको भनाई थियो।

प्रतिक्रिया दिनुहोस