पाकिस्तान शासित गिलगिट—बाल्टिस्तान २० घण्टाभन्दा बढी लोडसेडिङ

गिलगिट—बाल्टिस्तान —पाकिस्तानद्धारा शासित गरिएको गिलगिट— बाल्टिस्तानमा घण्टौंसम्मको लोडसेडिङले स्थानीयलाई कष्टकर जीवन बिताउन बाध्य बनाएको छ ।

स्थानीय उर्दू अखबार दैनिक बाद—ए—शिमलले अनुसार गिलगिट—बाल्टिस्तानमा २० घण्टा भन्दा बढी लोडसेडिङ
हुने गरेको छ ।

विगत १५ वर्षदेखिको कुनै पनि सरकारले यो समस्याको अन्त्य गर्न नसकेकोले जनता साँच्चिकै समस्यामा परेको र निकट भविष्यमा पनि त्यस्तो आशा नरहेको उक्त पत्रिकाले उल्लेख गरेको छ ।

जाडो याममा यस क्षेत्रमा अत्याधिक चिसो हुने हुँदा विद्युतको अनियमित आपूर्तिका कारण सर्वसाधारणले ठूलै समस्या भोग्नु परेको छ ।

गिलगिट— बाल्टिस्तानको लोकप्रिय अखबार पामिर टाइम्स अनुसार दुर्गम बस्ती र टाढाका क्षेत्रहरू पनि अन्धकारमा डुबेका छन् । त्यहाँका स्थानीय बासिन्दा डिजेल—जेनरेटर, मट्टितेलको वा प्राकृतिक ग्यास र मैनबत्ती प्रयोग गर्ने गरेका छन् ।

विद्युतको अनियमित आपूर्तिका कारण यस क्षेत्रका व्यवसायी विशेषगरी होटल व्यवसायी मारमा परेका छन् । पामिर टाइम्सले गरेको सर्वेक्षणमा सहभागी ५०० उत्तरदातामध्ये ८० प्रतिशतले आफ्नो क्षेत्रमा २० घण्टासम्म वा सोभन्दा बढी लोडसेडिङ हुने गरेको बताएका छन् ।

यद्यपी यस क्षेत्रमा पानी, सूर्यको प्रकाश र हावालगायत प्रकृतिका तत्वहरूबाट बिजुली उत्पादन गर्ने ठूलो क्षमता छ।

संघीय र क्षेत्रीय सरकारले यस क्षेत्रमा प्रचुर मात्रामा उपलब्ध यी स्रोतहरू मध्ये कुनै पनि उपयोग गर्न असफल भएको छ।

प्रतिक्रिया दिनुहोस