कसरी जोगाउने मिर्गौला ? यस्तो छ उपाय

काठमाडौं । मिर्गौला मानव शरीरको महत्वपूर्ण अंग हो । यसले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ, जसकारण रगतमा भएका विकार वस्तुहरु पिसाबको माध्यमबाट शरीरबाट निस्कन्छ । यही महत्वपूर्ण अंगमा देखिने समस्यालाई नै मिर्गौला रोग भनिन्छ । मिर्गौला बिग्रिएपछि सातामा दुई देखि ३ पटक नियमित डायलाइसिस गरेर रगत सफा गर्नुपर्ने अवस्था आउँछ । यस्तो अवस्थामा मानिसको ज्यान चाँडै गुम्ने हुन सक्छ ! कि भने आफन्तको मिर्गौला प्रत्यारोपण गनुपर्ने हुन्छ ।

नेपालमा मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवाको सरकारले निः शूल्क गरेको छ । तर डायलाइसिस सेवा लिन अस्पताल पुग्न तथा अन्य औषधि सेवन नियमित गर्न धेरै खर्च गर्नुपर्ने हुन्छ । स्वास्थ्य परीक्षण नगरी सुरुवाती चरणमा मिर्गौला बिग्रिएको थाहा हुँदैन । ८० प्रतिशत मिर्गौला बिग्रिएपछि मात्र बिरामीमा लक्षणहरु देखिन थाल्छ । त्यसैले समयसमयमा मिर्गौला परीक्षण गराउनु पर्दछ ।

उच्च रक्तचाप, मधुमेह, मिर्गौलामा हुने नेफ्राइटिस, मिर्गौलामा संक्रमण भएमा, मिर्गौलामा पत्थरी भएमा, प्रोस्टेटको समस्या भएर पिसाब रोकिने समस्या भएमा, पाठेघर खस्ने समस्याले पिसाब रोकिएमा र जथाभावी रुपमा औषधि सेवन गर्दा मिर्गौला बिग्रिने समस्या हुनसक्छ । पिसाबमा प्रोटिन गएको छैन भने मिर्गौला सम्बन्धि रोग लागेको हुनसक्छ । त्यसैले पिसाब सम्बन्धी समस्या छ भने मिर्गौला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । मिर्गौलामा खराबी छ वा छैन भनेर रगतमा क्रियाटिनिनको मात्रा परीक्षण गर्न सकिन्छ ।

मिर्गौला बिग्रन नदिन बिहान उठ्ने बित्तिकै पानी पिउनु राम्रो हुन्छ । यस्तै हरेक दिन ३ लिटरसम्म पिसाब लाग्ने गरी पानी खानुपर्छ । हरेक दिन १० हजार पाइला हिँड्न पनि जरुरी छ । यसैगरी समयमै सुत्ने, बिहान समयमै उठ्ने बानीले पनि हामीलाई निरोगी बनाउँछ । धेरै गुलियो पदार्थ खानु राम्रो हुँदैन । माछामासु कम खाने, उमेर बढ्दै गएपछि दुध, दही कम खाने, मैदाका परिकारहरु सकेसम्म नखादा नै राम्रो हुन्छ । दाल, भात, तरकारी तथा सागसब्जी खाने गर्नुपर्छ । मिर्गौला स्वस्थ राख्न खाना खाने तथा खाजा खाने समयको रुटिङ पनि बनाउन जरुरी छ, अर्थात् समयमै खाना खानुपर्छ । परिवारमा कसैलाई मिर्गौला सम्बन्धि रोग छ भने मिर्गौला परीक्षण गर्नुपर्छ र आफ्नो उचाइ अनुसार शरीरको तौल मेन्टेन गर्नुपर्छ । यसो गर्दा मिर्गौला स्वस्थ राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस