खुट्टा सुन्निने बानीलाई सामान्य लिने गर्दा यस्तो समस्या आउन सक्छ, जान्नुहोस्

खुट्टा सुन्निनु आजकल सामान्य समस्या हुन थालेको छ । यसको कारण सरलदेखि अत्यन्तै जटिल सम्म हुन सक्छ । हाम्रो हातको औलाको टुप्पाले ३० सेकेण्डजति खुट्टामा थिच्दा खाल्टो जस्तो परेको देखिन्छ भने हामीलाई हाम्रो खुट्टा सुन्निएको छ भने थाहा हुन्छ ।

खुट्टा सुन्निदा हिड्न, चल्न, जुत्ता लगाउन गाह्रो हुने, अप्ठ्यारो हुने गर्छ भने हामीलाई उक्त समस्या खुट्टा सुन्निएको कारणले पनि हुन सक्छ । खुट्टा सुन्निने समस्या महिलाहरूमा बढी हुने गर्छ । विशेष गरेर जतातिर फर्केर सुत्ने गरिन्छ उतापतिको खुट्टा बढी सुन्निन सक्छ । केहि कुराले थिचिएर हाम्रो खुट्टाको रक्तनलीमा जोर पुगेर समस्या देखा परेमा पनि हाम्रो खुट्टा सुन्निन सक्छ ।

रक्तनलीमा रगत जमेर रक्त सञ्चालन नभएको खण्डमा हाम्रो एउटा मात्रै खुट्टा पनि सुन्निन सक्छ । बेला बेला हाम्रो खुट्टा सुन्निने सामान्य कारण हुनसक्छन् । कस्सेको जुत्ता लगाउदा, दैनिक धेरै समयसम्म उभिनुपर्ने वा एउटै स्थानमा धेरै बेरसम्म बस्नु पर्ने वा खुट्टा झुण्डयाएर बस्ने गर्दा हाम्रो खुट्टा सुनिने गर्छ । यस किसिमले सुन्निएको खुट्टाका लागि हामीले खासै पीर गर्नु पर्ने हुदैन ।

यस अवस्थामा हामीलाई कुनै उपचारको जरुरी हुर्दैन । यो एक दुइ दिन सम्ममा आफै निको भएर जाने गर्छ । धेरै जसो मोटोपनाले सताएको मानिसलाई पनि खुट्टा सुन्निनेको प्रमुख कारणहरु हुन् । साथै, रक्तचाप नियन्त्रण गर्ने औषधीको कारणले पनि खुट्टा सुन्निने गर्छ । औषधिका कारणले सुन्निएको खुट्टालाई निको पार्नका लागि उक्त औषधीको परिवर्तन गरेको १ वा २ हप्तामा घट्ने गर्छ ।

उच्च रक्तचाप भएका वेला र गर्भवती भएका महिलाहरुलाई वा अन्य रोगहरु लागेमा पनि हामीलाई खुट्टा सुन्निने रोगले सताउने गर्छ । यसका साथ साथै मुटु कमजोर भएमा, मुति समबन्धि रोग लागेमा, दम भएमा, फोक्सो सम्बन्धि रोगहरु भएमा, मृगौलाले काम नगर्दा, विभिन्न मृगौला सम्बन्धि रोग हुदा वा थाइराइडको कमी भएमा हाम्रो खुट्टा सुन्निने गर्छ ।

हामीले सकेसम्म बस्ने बेलामा खुट्टालाई नझुण्डद्याइ टेबुलमा राख्ने गर्नुका साथै सुत्ने बेलामा खुुट्टालाई राम्रो संग राखेर सुत्ने गर्नु पर्छ । यसबाट खुट्टा सुन्निएको कम हुनुका साथै यस्तो समस्या बारम्बार दोहोरिदैन ।

यदि एक दुइ दिनमा यो समस्याको समाधान नभएको खण्डमा वा खुट्टा सुन्निनुका साथै स्वाँस्वाँ, छाती दुख्नु, पेट पोल्नु, पिसाब कम हुने लक्षण देखा परेमा हामीले डाक्टरकहाँ जानु पर्ने हुन्छ । यस्तो अवस्थामा हामीले मृगौला रोग विशेषज्ञ तथा मुटु रोग विशेषज्ञहरुको मा जानु उचित हुन्छ ।

खुट्टा सुन्‍नियो भने कसलाई जँचाउने?

साधारणतया खुट्टा सुनिने समयस्यालाई मानिसले समान्य मानिरहेको हुन्छन्। खुट्टा सुन्‍निने कारण सामान्यदेखि जटिलसम्म हुन सक्छ।

त्यसकारण कुनै जटिल समस्या नआओस भन्‍नका लागि खुट्टा सुनिने बितिकै जति सक्दो छिटो समस्याको पहिचान गरी निदानको उपाय खोजीनु पर्ने बताउछन् वीर अस्पतालका मुटु रोग विषेशज्ञ डा. हरीहर खनाल।

खुट्टा सुनिएको कसरी थाहा पाउने?

खुट्टाको हड्डी वा गोलीगाँठो भन्दा माथि औंलाले थिच्दा सुन्निएको भए खाल्डो देखिन्छ। औलाको टुप्पाले ३० सेकेण्ड जति खुट्टामा थिच्दा सुन्निएको छ भने थाहा हुन्छ। सुन्निएको कारणले हातको औलामा औंठी लगाउन गाह्रो हुन सक्छ। जुत्ता लगाउँदा गाह्रो हुने, हिड्दा खुट्टा दुख्ने वा अप्ठ्यारो हुने आदिखुट्टा सुन्निएको कारणले हुन सक्छ।

खुट्टा सुन्‍निने के के कारण हुन सक्छन?

डा. खनालका अनुसार खुट्टा सुन्‍निने धेरै कारणहरु मध्ये मुटु, मृगौला र फोक्सोका रोगहरु प्रमुख हुन। मधुमेह, उच्च रक्तचाप र थाइराइडको कमी पनि प्रमुख कारणहरु मानिन्छ।

कतिपय अवस्थामा उमेर ढल्किदै जाँदा पनि खुट्टा सुनिने समस्या देखिन्छ।त्यसमध्ये पनि मुटु र मृगौला सम्बन्धी कारणहरु सबभन्दा जटिल मानिन्छन्। यसको लागि तुरुन्तै आवश्यक जाँच गर्दा राम्रो हुन्छ।

त्यस्तै युवा पुस्तामा थाइराइडका कारण खुट्टा सुनिन्छ भने कतिपय अवस्थामा खुट्टामा रगतको संचार राम्रो संग नहुदा पनि सुनिने समस्या देखिन्छ। त्यस्तै नुन धेरै खाने मान्छेमा पनि खुट्टा सुनिने समस्या अधित देखिन्छ।

कहिले काहिँ खुट्टा विभिन्न कारणले सुन्निने गर्छ जस्तैः मोटोपना, गर्भावस्था, दैनिक धेरै समयसम्म उभिनुपर्ने वा एउटै स्थानमा धेरै बेरसम्म बस्नु पर्ने जस्तैः सवारी चालक र गार्ड इत्यादि।यसको लागि खासै चिन्ता भने गर्नु पर्दैन। यस्तो अवस्थामा कुनै उपचारको जरुरी हुर्दैन।

कतिपय अवस्थामा औषधीको कारणले पनि खुट्टा सुन्निन सक्छ।यदि औषधिका कारणले सुन्‍निएको हो भने औषधी परिवर्तन गरेको १–२ हप्तामा घट्छ।

एउटा मात्रै खुट्टा सुन्‍िनएपछि के गर्ने?

सामान्यतया दुइटै खुट्टा सुन्‍निछ, तर कहिलेकाँहि एउटा खुट्टा कम सुन्निएको हुनसक्छ। विशेष गरेर जतातिर फर्केर सुतिन्छ, उतातिरको खुट्टा बढी सुन्निछ । एउटा खुट्टामात्रै सुन्निएको छ भने तुरुन्तै कारण पत्ता लगाउनुपर्छ।

खुट्टाको रक्तनलीमा समस्या भएमा एउटा मात्रै खुट्टा सुन्निन सक्छ। यसलाई डीप भेन थ्रोम्बोसिस भनिन्छ। रक्तनलीमा रगत जमेर रक्त संचार नहुदा पनि एउटा मात्रै खुट्टा सुन्निन सक्ने संभावना रहन्छ।

मुटु वा मृगौलाको कारणले सुन्‍निएको हो भनेर कसरी थाहा पाउने?

मृगौलाको कारणले सुन्निएको हो भने बिहान उठ्ने बेलादेखि नै अनुहार सुन्निएको हुन्छ र दिन बित्दै जाँदा सुन्निएको घट्न थाल्छ । मृगौलाको कारणले अनुहारमा बढी र खुट्टामा कम असर पर्दछ। तर जटिल अवस्थामा खुट्टामा पनि बढी असर देखिन्छ।

मुटुको कारणले खुट्टामा बढी र अनुहारमा कम सुन्निएको देखिन्छ। बिहानमा कम र साँझ बढी सुन्निएको देखिन्छ। खुट्टा सँगै हात, आँखाको वरिपरि वा अनुहार पनि सुन्नियो भने केही न केही समस्या हुने सम्भावना बढी हुन्छ।तर मुटुको कारण ले हो भने, मुटुको जाँच गरेपछि यो कुरा के हो पत्ता लाग्छ। त्यसका लागी छातीको एक्सरे, इसीजी र इकोकार्डियोग्राफी गर्नु जरुरी हुन्छ।

खुट्टा सुन्‍नियो भने कसलाई जँचाउने

खुट्टा सुन्निएमा तुरुन्तै आत्तिनु हँदैन। खुट्टा मात्रै सुन्निनु र अरु केही लक्षण देखा पर्छन्।

स्वाँस्वाँ हुने

छाती दुख्नु,

पेट पोल्ने

खुट्टा सुन्निन

यस्तो समस्या देखिन्छ भने तुरुन्त मेडिकल परामर्श लिनुपर्छ। यसमा धेरै जसो बिरामीको मुटुको परिक्षण गर्नुपर्ने भएकाले मुटुरोग विशेषज्ञलाई भेट्नुपर्ने जरुरी हुन्छ।

मृगौलाको कारणले पनि खुट्टा सुन्निने गर्दछ।प्रारम्भिक जाँचमै पिसाब र मृगौलामा खराबी देखिएमा नेफ्रोलोजिष्ट मृगौला रोग विशेषज्ञ लाई भेट्नु जरुरी हुन्छ।

थप जानकारी :

घुँडा, कुहिनो, गर्धन, कुम, छाती र हिपको जोर्नीमा दुख्ने रोग के हो ?

लामो समयसम्म शरीरका मांसपेशी, हाडजोर्नी दुख्ने र थकाइ महसुस हुने रोगलाई ‘फाइब्रोमाएल्जिया’ भनिन्छ । लामो समय (दीर्घकालसम्म) शरीरभरि नै दुख्ने भएकाले यसलाई ‘क्रोनिक वाइडस्पे्रड पेन’ पनि भनिन्छ । तीन महिनाभन्दा बढी समयसम्म शरीरका विभिन्न अंग दुखिरहेमा फाइब्रोमाएल्जिया भएको हुन सक्छ । यो रोगमा कम्मरभन्दा माथि वा तल (अपर/लोअर हाफ) को भाग वा शरीरको देब्रे वा दाहिने (लेफ्ट÷राइट हाफ) भागमा दुख्छ ।

यो स्वास्थ्य सम्बन्धी सामान्य समस्या भए पनि धेरै मानिस यसबाट पीडित हुन्छन् । नेपालमा फाइब्रोमाएल्जियाका रोगीको संख्या बारे कुनै पनि तथ्यांक छैन । तर, विश्वको कुल जनसंख्याको ३ देखि ६ प्रतिशत जनसंख्या यो रोगबाट ग्रस्त भएको अनुमान छ । सामान्यतया कुल जनसंख्याको १० प्रतिशत मानिसलाई कुनै न कुनै किसिमको दुखाइ हुन्छ । अन्य देशको तथ्यांकका आधारमा अनुमान गर्दा कम्तीमा ३० लाख जति नेपालीमा शरीर दुख्ने समस्या हुन सक्छ भने करिब १५ लाखलाई फाइब्रोमाएल्जिया हुन सक्छ ।

यो रोग सम्बन्धमा गरिएका अनुसन्धानले शरीरमा ९ जोर (१८ वटा) टेन्डर प्वाइन्ट (घुँडा, कुहिनो, गर्धन, कुम, छाती र हिपको जोर्नी छेउका भाग) रहेको देखाएका छन् । यी कुनै पनि प्वाइन्टमा थिच्दा अत्यन्त दुख्छ र शरीरको अन्य भागमा समेत फैलन सक्छ ।

यो रोग प्रायः महिलामा बढी देखिएको छ । २० देखि ५० वर्ष उमेर समूहका महिलामा यो रोग बढी पाइएको छ । तर, यसको अर्थ अरु उमेर समूहका महिला र पुरुषलाई यो रोग लाग्दैन भन्ने होइन । जीवनको उर्वर समयमा यो रोग लाग्ने भएकाले रोगीलाई धेरै दुःख दिन्छ ।

किन हुन्छ फाइब्रोमाएल्जिया

फाइब्रोमाएल्जिया हुने कारण यही नै हो भनेर अहिलेसम्म पत्ता लागेको छैन ।
यो वंशाणुगत कारणले पनि हुन सक्छ । चिन्ता र तनाव साथै धेरै धपेडीले पनि यो रोग लाग्न सक्छ । यस्तै, महिलामा हर्मोनका कारणले हुनसक्छ भने वातावरणका कारण पनि हुन सक्छ ।

कसरी थाहा पाउने ?

शरीरको सम्पूर्ण भागमा तीन महिनाभन्दा बढी दुख्नु, अत्यधिक थकाइ लाग्नु, सुतेर बिहान उठ्दा अझै सुत्न मन लाग्नु, निद्रा नलाग्नु, शरीर भारी महसुस हुनु यो रोगका लक्षण हुन्।

यो रोग लागेका कसैलाई शरीरका विभिन्न भाग दुख्ने समस्या बढी हुन्छ भने कसैलाई अनिद्राको समस्या बढी हुन्छ । त्यस्तै कसैलाई थकाइको समस्या बढी हुन्छ । फाइब्रोमाएल्जियाका सबै रोगीमा समान नभएर मानिस अनुसार लक्षण फरक–फरक देखिन सक्छन् ।

यसबाट पीडित कोही धेरै चिन्तित हुने, उदास देखिने हुन्छन्, मानसिक समस्या देखा पर्छ । यो रोगबाट पीडितमध्ये ५० प्रतिशतमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिन्छ।

यो रोग लाग्दा बारम्बार टाउको दुख्न सक्छ । यस्तो दुखाइ तनावका कारण हुन सक्छ । कसैको पेट गडबड हुन सक्छ, भोजन गर्न मन नलाग्ने, अपच, वायुगोला बढ्ने, कब्जियत हुने आदि समस्या आउन सक्छ ।

आत्तिने वा तर्सिने हुन सक्छ, आँखा बिझाउने वा पोल्ने हुन सक्छ, हातखुट्टा झमझमाउने वा निदाउने, पोल्ने, लाटो हुने पनि हुन सक्छ । हात खुट्टा दुख्ने, जोर्नी दुख्ने, हातखुट्टा सुन्निएजस्तो हुने हुन सक्छ ।

यसका रोगी आफूलाई कडा बाथ लागेछ कि भनेर डराउँछन् । तर, यो बाथसँग मिल्दोजुल्दो भए पनि कडा किसिमको बाथ भने होइन ।

बिहान उठ्दा हातखुट्टा अरट्ठ भए पनि धेरै बेर रहँदैन, चिसोले हात सुनिएजस्तो हुन सक्छ ।

यसका बिरामी झुक्किन सक्ने अन्य रोग

कहिलेकाहीँ फाइब्रोमाएल्जिया अन्य विभिन्न रोगसँग मिल्दोजुल्दो भएकाले पहिचान गर्न कठिन हुन्छ र यो रोग लागे पनि अर्कै रोग लागेको भनेर बिरामी झुक्किन सक्छन् ।

विभिन्न प्रकारका बाथ रोग लागेको भनेर झुक्किन सक्छन् ।

फाइब्रोमाएल्जियाको दुखाइलाई थाइराइड, प्याराथाइराइड, प्याराथर्मोन वा प्याराथिरिन (पिटिएच) हर्मोन कमी हुँदाको समस्यासँग झुक्किन सक्छन् । त्यस्तै, उदासी वा डिप्रेसनको रोगी भनेर पनि झुक्किन सक्छन् ।

नसाको रोग लागेको, हर्मोनको गडबढी भएको, मांसपेशी सम्बन्धी रोग लागेको वा कोलेस्टेरोल बढेको भनेर पनि फाइब्रोमाएल्जियाका रोगी झुक्किन सक्छन् ।

उपचार

बिरामीलाई फाइब्रोमाएल्जियाबारे राम्ररी जानकारी गराउनुपर्छ, परामर्श दिनुपर्छ । यसलाई निको पार्न थेरापी गराउन सकिन्छ । फाइब्रोमाएल्जियाका बिरामीले शारीरिक व्यायाम गर्नुपर्छ ।
यसका बिरामीले प्रसस्त सुत्नु पर्छ । यस्तै चिकित्सकले पनि बिरामीका कुरा सुन्नुपर्छ ।

सम्पूर्ण शरीर दुख्ने बिरामीलाई औषधि दिनुपर्छ । कुनै बिरामीलाई दैनिक औषधि आवश्यक पर्दैन भने कसैलाई निद्रा लाग्ने औषधि चाहिन सक्छ । कसैलाई थकाइ नलाग्ने औषधि दिनुपर्ने हुन सक्छ । बिरामीले मानसिक चिकित्सकसँग परामर्श गर्नु आवश्यक छ ।

यो रोग पीडादायी भएकाले बिरामीलाई मानसिक, शारीरिक र सामाजिक पीडा हुन्छ । यसले जीवनको सबैभन्दा उर्वर समयमा शारीरिक र मानसिक दुःख दिन्छ । बेलैमा पहिचान गरेर उपचार गरे यो रोगको उपचार सहज छ । अहिले नेपालमै यसको उपचार गर्न सकिन्छ । रोगको पहिचान नगरी जथाभावी औषधि खाए समस्या अझै जटिल हुन सक्छ ।

यसको उचित उपचार गर्न बिरामीको कुरा राम्रोसँग सुन्नु पर्छ, बिरामीको सम्पूर्ण शरीर जाँच्नु पर्छ । डाक्टरको उपचारले बिरामीको दुखाइमा त्यति फाइदा गरेको देखिँदैन । यसले शरीरमा कुनै असर गर्दैन, न त आयु नै घटाउँछ तर शरीरका विभिन्न भागमा दुख्ने भएकाले निकै पीडा दिन्छ । नेपालमा यो रोगबारे धेरै जानकारी नभएकाले जनचेतना जगाउन अत्यन्त आवश्यक छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस