यिनै हुन भर्खरै सबैलाई उछिन्दै गिनिज बुकमा विश्वकै अग्लीमा नाम लेखाउने महिला

काठमाडौं । उनी हुन भर्खरै सबैलाई उछिन्दै गिनिज बुकमा विश्वकै अग्लीमा नाम लेखाउने महिला । उनी टर्कीकी रुमेसा गेल्गी हुन् ।संसारकै सबैभन्दा अग्ली महिलाको रुपमा गिनिज बुकमा उनको नाम लेखिएको छ । ७ फुट अग्ली रुमेसालाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले औपचारिक रुपमा विश्वकै अग्ली महिलाको कीर्तिमानी प्रमाणपत्र प्रदान गरेको हो ।

टर्कीको काराबुक प्रान्तकी गेल्गीको सरीरको उचाइ ७ फिट ०.७ इन्च रहेको छ । रुमेसाको सरीरको उचाइ धेरै हुनुको कारण चाहिं उनमा रहेको दुर्लभ रोग हो ।

वास्तवमा Weaver Syndrome भनिने रोगका कारण उनको जिउको उचाइ तीव्र गतिमा बढेको हो । दुर्लभ स्वास्थ्य समस्याका कारण सिर्जित आफ्नो असामान्य शारीरिक अवस्थालाई गेल्गीले प्रेरणाको रुपमा लिएकी छिन् ।

उनी भन्छिन्– हरेक असुविधाहरुलाई तपाईंको लागि सुविधामा परिणत गर्न सक्नुहुन्छ त्यसैले तपाईंले आफूजस्तो हुनुहुन्छ त्यसैलाई स्विकार्नु पर्दछ । आफ्नो क्षमताका बारेमा जानकार हुनुहोस् र आफ्नो तर्फबाट अधिकतम प्रयास गर्नुहोस् ।

उनले आफ्नो जस्तै विभिन्न दुर्लभ तथा जटिल स्वास्थ्य समस्या भएका मानिसहरुको हीतमा पैरवी गर्नका लागि आफ्नो प्लाटफर्म प्रयोग गर्दै आएकी छिन् ।

असामान्य शारीरिक अवस्था तथा अधिकतम उचाइका कारण उनलाई सहज रुपमा हिँडडुल गर्न गाह्रो छ । त्यसैले उनले ह्वीलचेयर प्रयोग गर्दै आएकी छिन् । यद्यपि उनी वैशाखीको सहाराले पनि हिँड्न सक्छिन् ।

स्मरण रहोस् मानव इतिहासमै हालसम्मकी सबैभन्दा अग्ली महिलाको कीर्तिमान भने चीनकी जेंग जिनलियानको नाममा छ । हुनान प्रान्तकी जिनलियानको उचाइ ८ फिट १ इन्च थियो । उनको सन् १९८२ मा मृत्यु भएको थियो । –द इन्डिपेन्डेन्टबाट

प्रतिक्रिया दिनुहोस