युक्रेनको एक फार्मका मालिक भन्छन् : ४०० जीवजन्तुलाई छाडेर भाग्नुभन्दा मर्छु

एजेन्सी, युक्रेनका एक फार्म मालिकले आफ्नो सेल्टरमा रहेका चारसय जीवजन्तुलाई छाडेर जानु भन्दा बरु आफू त्यहीँ मर्न तयार रहेको बताएका छन् । फार्म मालिकको यो निर्णयपछि सामाजिक सञ्जालमा उनलाई ‘हिरो’को संज्ञा दिएर प्रशंसा गरिरहेका छन् ।

उनी रोमका एन्ड्रिआ सिस्टेर्निनो पूर्वफोटोग्राफर हुन् । हाल उनी जीवजन्तुहरूको उद्धार गर्दै आएका छन् । उनको फार्ममा कुकुर, बिरालो, भेडा, बाख्रालगायत सबै किसिमका जीवजन्तु छन्।साठी हजार फलोअर रहेका उनको फेसबुक पेजमा उनले हरेक दिन त्यहाँको अवस्थाबारे जानकारी सेयर गर्दै आएका छन् ।

२४ फेब्रुअरीका दिन पुटिनले युक्रेनमा हमला सुरु गरेलगतै उनले आफ्नो अकाउन्टमा लेखेका छन्, “म मेरा जीवजन्तुका लागि यहीँ मनेर्छु । यहाँबाट म एक्लै शरण लिन मिल्दैन । मसँगै बस्दै आएका चारसय जीवलाई जुनसुकै हालतमा बचाउनैपर्छ ।”

आफ्नो सेल्टरकै माथिबाट रुसी हेलिकप्टर उडिरहेको देख्दा पनि उनले आफ्नो फार्म छाडेका छैनन् । लगातार आफ्नो र फार्मका सबै जीवजन्तुबारे जानकारी दिइरहेका छन् ।
आफूले पालेको एउटा सुँगुरसँगको तस्बिर राख्दै उनले भनेका छन्, “यहाँ कर्फ्यू लगाइएको छ । सबैतिर अँध्यारो देखिन्छ । थोरैभन्दा थोरै घरमा बत्ती बलेका छन् । मैले केही समय अगाडि एउटा ठूलो विस्फोटको आवाज सुनेको थिएँ । अब शान्तिपूर्ण रातको अपेक्षा गरौँ ।”

त्यसैगरी, अर्का फेसबुक प्रयोगकर्ताले सिस्टेरनिनो, उनकी पत्नी र अन्य तीन मानिससहित सबै जीवजन्तु नजिकैको मठमा शरण लिइरहेका उल्लेख गरेका छन् ।उनकाअनुसार उनीहरू सबै सुरक्षित स्थानमा रहेको र उनीहरूसँग आफ्नो र जीवजन्तुका लागि आवश्यक सामग्रीहरूको आपूर्ति भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस