रुसमा रुवाबासी युक्रेनमा छायो खुसीयाली, राजधानी किभ पूर्ण रुपमा युक्रेनी सेनाले लियो आफ्नै नियन्त्रणमा

राजधानी किभ पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको युक्रेनले दाबी गरेको छ। रूसी सेना फिर्ता हुन थालेपछि किभका सबै क्षेत्रमा आफ्नो पकड कायम रहेको युक्रेनको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। रक्षा मन्त्रालयका अनुसार रूसी सेनाले किभ नजिकैको होस्टमेल विमानस्थल पनि छाडेका छन्। रूसी सेनाले होस्टमेल विमानस्थललाई केन्द्र बनाएर किभमा आक्रमण गरिरहेको थियो।

यो सँगै रूसी सेना अन्य सहरहरूबाट पनि फिर्ता हुन थालेको युक्रेनले दाबी गरेको छ। यसैबीच टर्कीमा भएको प्रत्यक्ष वार्ता र त्यसपछि भएको भर्चुअल संवादमा सहमतीका केही आधारहरू तयार भएकाले युक्रेनमाथिको कारवाही घटाएर सेना फिर्ता हुन थालेको रूसले जनाएको छ ।

यता बेलायतको रक्षा मन्त्रालयको एक खुफिया अपडेट अनुसार रूसले पछिल्लो एक सातामा दक्षिण-पूर्वी यूक्रेनमाथि हवाई गतिविधि तिब्र पारेको छ। युक्रेनका राष्ट्रपती भलोदिमिर जेलेन्स्कीले पनि रूसले युक्रेनको पूर्वी र दक्षिणी क्षेत्र कव्जा गर्न चाहेको जिकिर गर्दै सतर्क रहन आग्रह गरेका छन्। एउटा भिडियो सन्देशमा जेलेन्स्कीले किभबाट सेनापछि डोनबास तथा दक्षिण क्षेत्रमा कव्जा गर्न प्रयास हुनसक्ने भन्दै सतर्क रहन आफ्ना नागरिकलाई भनेका छन्।

प्रतिक्रिया दिनुहोस