शिवराजकी कान्छी उपप्रमुख शिवकुमारीको प्रमुख बन्ने धोको

बुटवल : कपिलवस्तुको शिवराज नगरपालिकाकी उपप्रमुख हुन् शिवकुमारी थारु। २०७४ सालको निर्वाचनमा ‘कान्छी उपप्रमुख’ बनेकी शिवकुमारीको अहिले प्रमुख बन्ने धोको छ।त्यसो त अघिल्लो निर्वाचनमा शिवकुमारीले चाहेर उपप्रमुख भएकी होइनन्। पार्टीकै आवश्यकताका आधारमा २३ वर्ष पूरा भई २४ वर्ष लाग्दै गर्दा उनले नेकपा एमालेबाट टिकट पाइन्। र, निर्वाचित बनिन्।निर्वाचित भएपछि उनको चर्चा चुलियो। अहिले पनि फेरि शिवकुमारी चर्चामा आएका छिन्। कारण, नगर प्रमुख।

‘पार्टीले दिने निर्णयलाई आत्मसात गर्छु। संविधानले प्रदान गरेका अधिकार भित्र रहेर पाँच वर्षमा नगरमा काम गरें। अनुभव हासिल गरें। अब प्रमुख बन्ने योग्यता, त्यो ल्याकत मसँग छ,’ उनले भनिन्।२८ वर्षीया शिवकुमारीले पार्टीभित्र पनि राम्रो पकड बनाएकी छिन्। ओली प्रधानमन्त्री हुँदा भियतनाम, कम्बोडिया लगायतका देशमा वैदेशिक भ्रमणकी सदस्य बनेकी शिवकुमारीलाई अहिले धेरैले नगर प्रमुखमा अवसर दिनुपर्ने पनि बताउँदै आएका छन्।

थारु समुदायको बाहुल्य रहेको यो क्षेत्रमा उनी प्रमुख पदमा अगाडि बढे अरु दललाई निर्वाचनमा पराजित गर्न सकिने आकलन एमालेका कतिपय नेताको छ। त्यसैले पनि उनको दावेदारीलाई महत्वपूर्ण ढंगले हेरिएको छ।अघिल्लो निर्वाचनमा शिवकुमारीले ५ हजार ९६२ मत पाउँदा प्रतिस्पर्धी तत्कालीन संघीय समाजवादी फोरमकी सुमन यादवले ३ हजार २९ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सविता चौधरीले २ हजार २३ मत प्राप्त गरेका थिए।

कान्छी उपप्रमुख बनेर काम गर्दा सुरुमा केही अलमल भएपछि समयक्रमले उनलाई पाको मात्र बनाएर जिम्मेवारी बोध पनि गरायो। त्यही कारणले पनि आज प्रमुखमा उनले दावेदारी प्रस्तुत गरेकी छन्।‘शिक्षक बन्ने योजना, तर बनियो उपप्रमुख। सुरुमा केही अलमल भए पनि विस्तारै कामले गति लियो। घर-परिवार, नगर प्रमुख अरु जनप्रतिनिधि, नगरबासीको सहयोगले काम गर्न सकें,’ उनले भनिन्।

शिवराज नगरपालिका-१ शिवपुरको शिवपुर माविबाट प्रथम श्रेणीमा एसएलसी पास भएकी शिवकुमारी नगर उप्रमुख हुँदै गर्दा स्नातक तहमा शिक्षातर्फबाट उत्तीर्ण गरेकी छिन्। थारु समुदायमा कम पढे-लेखेकामध्येकी एक शिवकुमारीले नगर प्रमुख बनेर अझै एक पटक नगरको विकास गर्न चाहेको बताइन्।

‘महिलाका मुद्दा मात्र होइन, पछाडि परेका समुदायको उत्थानसँगै नगरको विकास मेरो प्राथमिकता हुनेछ। महिलाले केही गर्न सक्दैनन् भन्ने हरुका लागि काम गरेर उदाहरणीय बन्नका लागि पनि मेरो प्रमुखमा आकांक्षा हो,’ उनले भनिन्।शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी पनि एमालेबाटै निर्वाचित भएकाले काम गर्न धेरै सहज भएको उनको तर्क छ। आगामी निर्वाचनमा अधिकारी पनि दोहोरिन खोजेका छन्।

एमालेबाट नगर प्रमुखमा शिवकुमारी, नेत्रराजसँगै प्रदेश सांसद अर्जुनकुमार केसीको नाम पनि चर्चामा छ। पार्टीलाई बलियो बनाउँदै शिवराजमा विरासत बचाउन प्रदेश सभा सदस्यबाट राजीनामा गराएर भए पनि नगर प्रमुखमा केसीलाई अगाडि सार्ने एमालेकै कतिपय नेताहरु बताउँछन्। तर अहिलेसम्म केसीले खुलेरै उम्मेदवारी दिने नबताए पनि पार्टीले निर्णय गरेमा पछि नहट्ने तयारीमा छन्।

केसीले पार्टीबाट हुने निर्णय आत्मसात गर्ने बताएका छन्। ‘पार्टी मेरो आवश्यकता कहाँ ठान्छ त्यो जिम्मेवारी म पूरा गर्छु। अहिले नै यहाँ, त्यहाँ भन्ने छैन। पार्टीको निर्णय नै मान्य छ,’ उनले भने।कांग्रेसबाट शिवराजमा धेरै जनाले प्रमुखमा आकांक्षा देखाएका छन्। कांग्रेसका जिल्ला उपसभापति हुमाकान्त खनाल, कांग्रेसबाट प्रदेश सभा सदस्य उम्मेदवार बनेका अजय थापा, कांग्रेस जिल्ला सचिव प्रेमबहादुर रायमाझी, ईश्वरी पाण्डेको नाम अहिले नगर प्रमुख पदमा आकांक्षीका रुपमा चर्चा छ।

रायमाझी अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए। उनले जम्मा २ हजार २ सय ७९ मत प्राप्त गरेका थिए। अजय थापा भने तत्कालीन समयमा राप्रपाबाट नगर प्रमुखमा उम्मेदवारी दिएका थिए। उनले २ हजार ६ सय ७१ मत प्राप्त गरेका थिए।

‘गठबन्धनको अवस्थामा भए यहाँ सजिलो हुन्छ। पार्टीलाई सुढृढ बनाउँदै लैजाने र शिवराजको समग्र विकासको नेतृत्वका लागि मेरो आकांक्षा हो,’ रायमाझीले भने। जसपाबाट भने कृष्णकुमार चौधरी, रहिश शाह पनि प्रमुखमा आकांक्षी देखिएका छन्। कांग्रेस, एमाले र जसपा बलियो रहेको यो पालिकामा अघिल्लो वर्ष कांग्रेस भित्रकै अन्तरविरोधले एमालेले जित्न सकेको हो। यस पटक भने नेता मंगलप्रसाद गुप्ता ठूलो समूह सहित एमालेमा आएकाले अहिले एमालेलाई सहज हुने आकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस