प्राकृतिक रुपमा गर्भधारण गरेर छोरा जन्माएका पुरुष आफूलाई आमा भनिएपछि असन्तुष्ट

काठमाडौं। एक पिताले आफूले गर्भधारण गरेको बेला नर्सहरुले आफू पुरुष हुँदाहुँदै पनि आफूलाई आमा भनेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । लस एन्जल्सका ३७ वर्षका बेनेट क्यास्पर विलियम्सले २०२० मा छोरा जन्माएका थिए । उनले प्राकृतिक रुपमै गर्भधारण गरेर बच्चालाई जन्म दिर्एका थिए ।

डेलीमेलका अनुसार करिब १० वर्षअघि २०११ मा उनलाई पहिलो पटक आफू ट्रान्सजेंडर भएको महसुस भएको थियो । तर, उनले आफू पुरुषमा परिणत हुने प्रक्रिया तीन वर्ष पछि मात्र सुरु गरेका थिए । ६ वर्षपछि २०१७ मा उनको मलिकसँग भेट भयो जोसँग उनले २०१९ मा बिहे गरे । उनीहरुले बच्चा जन्माउने निर्णय गरे । यसका लागि उनीहरुले आफूसँग उपलब्ध विकल्पहरु प्रयोग गर्ने निर्णय गरे ।

जन्मिँदा महिलाको शरीरसहित जन्मिएका बेनेटले आफूले केही वर्षदेखि लिँदै आएको टेस्टोस्टेरोन हर्मोन थेरापी बन्द गरे । आफ्नो पाठेघरले प्राकृतिक रुपमा काम गर्न थालोस भनेर उनले यसो गरेका थिए । उनले आफ्नो शरीरको माथिल्लो आधा भागको सर्जरी गरिसकेका थिए तर आफ्नो जनेन्द्रियको सर्जरी गरेका थिएनन् । उनलाई प्राकृतिक रुपमा गर्भधारण गरेर पेटमा बच्चा हुर्काउन सक्छु भन्ने लाग्यो ।

केही समयको प्रयासपछि नै उनले प्राकृतिक रुपमा गर्भधारण गरे र उनले अक्टोबर २०२० मा छोरा हड्सनलाई सिजेरियन अपरेशनमार्फत जन्म दिएका थिए । तर, आफू गर्भावस्थामा र बच्चा जन्माउने क्रममा अस्पतालमा हुँदा आफ्नो लैंगिक विषयलाई गलत तरिकाले प्रयोग गरिएको उनले गुनासो गरे । उनका अनुसार अस्पतालमा उनलाई आमा भनिन्थ्यो जबकि उनको दाह्री थियो र समतल छाती थियो ।

प्रतिक्रिया दिनुहोस