जावलाखेललाई पराजित गर्दै केपी ओली एफसी सेमिफाइनलमा

काठमाडौं । आयोजक केपी ओली एफसीले केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ ।

एन्फा कम्प्लेक्समा शनिबार जावलाखेल युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै आयोजक अन्तिम चरणमा पुगेको हो ।

निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा आयोजकले बाजी मारेकाे छ । पेनाल्टीमा केपी ओली एफसीका बिक्रम लामा, आदित्य शाक्य, अशोक खवास, लकेन लिम्बु, र अनिल महर्जनले गोल गरेका हुन् ।

जवालाखेलका सिमान्त थापा, समिराज थोकर, फोडे फोफाना र अब्दुलाजिज निशोनबोइभले गोल गरेका थिए । तर, जावलाखेलका एनकोटो स्यानोउस मासोआबीको पेनाल्टी प्रहार आयोजक टोलीका गोलकिपर पूर्ण चेम्जोङले बचाएका हुन् ।

अब आयोजक टोलीले सेमिफाइनलमा मछिन्द्र फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस