‘लक्ष्मीले आफ्नो कलेजो काटेर श्रीमानलाई दिइन्’….

ललितपुर । प्रेम गर्नेहरुले आफ्नो प्रेमी प्रेमिकालाई ‘मुटु दिन्छु’ भन्छन । तर शंखरापुर नगरपालिका वडा नं ६ इपा टोल, साँखुकी ४८ वर्षिया लक्ष्मी श्रेष्ठ प्रजापतिले ५० वर्षे आफ्ना श्रीमान कृष्ण गोपाल प्रजापतिलाई मुटु त ३५ वर्षअघि नै दिइसकेकी थिइन, सोमबार त उनले आफ्नो कलेजो पनि आधा काटेर दिइन् ।

३५ वर्षअघि १५ वर्षको किशोरी अवस्थामा प्रेममा परेर कृष्ण गोपाललाई मुटु दिएकी लक्ष्मीले श्रीमान नै आफ्नो प्रेमी र सर्वस्व भएको भन्दै कलेजो पनि दिएकी हुन् । प्रजापति दम्पतिका छोराछोरी छैनन ।

लक्ष्मीको कलेजोको ५७ प्रतिशत भाग काटेर किस्ट मेडिकल कलेज शिक्षण अस्पताल ग्वार्काे ललितपुरमा उनका श्रीमान कृष्ण गोपाललाई प्रत्यारोपण गरिएको हो ।

कलेजो विग्रेर पटक पटक वेहोस भई विभिन्न अस्पतालमा धाउँदै आइसियु कक्षमा पटक पटक उपचार गराईसकेका कृष्ण गोपालको स्वास्थ्य अवस्था निकै जटिल भइसकेको कलेजो प्रत्यारोपण गर्नुअघि चिकित्सकले बताएका थिए । प्रत्यारोपणको लागि लक्ष्मी (दाता) र कृष्ण गोपाल (लिने) दुवैजना एक हप्ताअघि सो मडिकल कलेजमा भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस