‘एमालेविरुद्ध होइन, दोषीविरुद्ध उभिने हिम्मत देखाउनुस्’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको ठगीबारे भइरहेको छानबिनको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।

प्रधानमन्त्रीले एमाले नेताहरुलाई फसाउन र अरुलाई उम्काउन खोजेको उनको आशंका छ । एमाले अध्यक्ष ओलीले सोमबार पार्टीसम्वद्ध राष्ट्रिय युवा संघको बैठकलाई करिव ४५ मिनेट सम्बोधन गरेका थिए । सम्बोधनको अन्तिमको करिव १५ मिनेट उनले भुटानी शरणार्थी प्रकरणबारे बोले र प्रधानमन्त्रीमाथि निरन्तर प्रश्न उठाए ।

प्रधानमन्त्रीले भेट्न बोलाएपछि आफू गएको, तर भेटेपछि कसैको दबावका अगाडि झुक्छु ? भन्दै आफूले दबाव दिएको जस्तो पार्न खोजेको भन्दै उनले आक्रोश पोखे ।

प्रधानमन्त्रीले हिरोइजमको ब्यापार गरेको भन्दै ओलीले भने, ‘स्टन्टबाजी गर्ने होइन छानबिन गरेर दोषीमाथि कारबाही गर्नुपर्‍यो । म प्रधानमन्त्रीलाई चुनौती दिएर भन्छु, दोषीका विरुद्ध उभिने हिम्मत देखाउनुस्, प्रतिपक्षका विरुद्ध होइन ।’

तर आफूविरुद्ध १९ पृष्ठ लामो आरोप लगाउनेलाई आफूले चिनेको भन्दै उनले अगाडि भने, ‘त्यत्रो पार्टीमाथि प्रहार गर्नेहरुले अहिले फेरि विभिन्न खालका दाउ गर्दैनन् भन्न सकिँदैन । त्यसो हो भने मुकाबिला हुनेछ, म त्यो कुरा भनिदिन चाहन्छु ।’

ओलीले कसैको नाम नलिई केही मान्छेहरुलाई बद्नाम गर्ने प्रयास भइरहेको दाबी गरे । ‘कसैलाई कहाँबाट अवकाश दिने र त्यस ठाउँमा कसलाई नियुक्त गर्नेसम्मका षड्यन्त्र हामी पनि अलिअलि सुन्छौं, हाम्रा पनि दुईटा कान छन्’, उनले भने, ‘त्यस खालका षड्यन्त्रहरु नगर्न म सरकारलाई सुझाव दिन चाहन्छु, चेतावनी दिन चाहन्छु ।’

प्रस्तुत छ, एमाले अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोलेका सम्बोधनको अंश :

कसैले भन्न सक्छ, केही करप्सन (भ्रष्टाचार) का कुरा आउन सक्छन् । कसैले कहीँ करप्सन गर्न सक्लान् पनि । व्यक्तिगत तबरमा कहिँ कसैले करप्सन गर्‍यो भने करप्सनप्रति एमालेको समर्थन नरहने मात्र होइन, त्यस्तो करप्ट कुरालाई एमालेले कहिल्यै टोलरेट गर्दैन (सहदैन) ।

तर एमालेका विरुद्ध तथाकथित यसलाई पनि तान, उसलाई पनि तान भनेर निर्देशन दिने खालका कुराहरु हुन्छन् भने भ्रष्टाचार छोप्ने कुरा, भ्रष्टाचारीलाई लुकाउने कुरा, कसैलाई खेदी खदी हत्कडी लगाउने, कसैलाई लुकाउने कुरा, कसैलाई सोधपुछ नै नगर्ने कुरा, कसैलाई संरक्षण गर्ने कुरा, कसैको नाम आएपछि मुद्दै गुपचुप गर्न पक्राउ परेकै मान्छे छोड्ने कुरा, अलिपछि उजुरबाजुर परेपछि बाध्यताले समाउने कुरा र त्यो एमालेतिर लक्षित गर्ने दुस्साहस यदि कसैले गर्छ भने त्यसको जवाफ एमालेले दिन्छ ।

प्रधानमन्त्रीले मलाई बोलाउनुभयो । म पाँचथरमा हुँदा फोन गर्नुभएको थियो । उहाँले ममाथि ढुंगा हानिएको कुरा, हिंसात्मक गतिविधि भएको आदि कुरामा किञ्चित दुखमनाउ गर्नु भएन । शेरबहादुर देउवाजीले फोन गर्नुभयो । तपाईमाथि त्यस्तो अभद्र व्यवहार गरिएकोमा दुख लागेको छ, यस्तो नहुनुपर्ने थियो, सरकारले यस्ता कुराहरु रोक्नुपर्छ, म पनि सरकारसँग कुरा गर्छु । यो त भएन भनेर शेरबहादुरजीले सहानुभूति देखाउनुभयो ।

प्रतिक्रिया दिनुहोस