चिनियाँ कम्पनीले निर्माणको ठेक्का लिएको मुग्लिन-पोखरा सडक समय सकिनै लाग्दा पनि अलपत्र

काठमाडौं- चिनियाँ कम्पनीले निर्माणको ठेक्का लिएको मुग्लिन- आबुखैरेनी-पोखरा सडक खण्ड निर्माण सम्पन्‍न हुने म्याद सकिने समय नजिकिँदै गर्दा काम अलपत्र पारेको छ। विसं २०७७ माघ १७ गते सम्झौता भई २०८१ वैशाखमा सम्पन्‍न गर्ने भनेको भनिए पनि ८ महिनामात्र बाँकी रहँदा पनि २० प्रतिशत पनि काम गर्न सकेको छैन।

चिनियाँ कम्पनीले दुई खण्डमा विभाजन गरी काम सम्पन्‍न गर्ने बताए पनि नेपाली ठेकदारसँगको विवाद सिर्जना गर्दै काम अलपत्र पारिरहेको छ।

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई दुई भागमा विभाजन गरी काम गरिएको बताइएको थियो। दुवै खण्डको हालसम्मको प्रगति २० प्रतिशत पनि हुन सकेको छैन। काम सम्पन्न गर्नुपर्ने म्याद ८ महिना बाँकी रहँदा प्रगति सुस्त भएर समयमै सम्पन्न नहुने आशङ्का उब्जिएको छ।

त्यस्तै जामुनेदेखि पोखरासम्मको खण्डको प्रगति चार दशमलव एक प्रतिशत मात्रै छ। यो खण्डमा कामको गति झनै सुस्त देखिएको छ। यो खण्डमा पनि भित्ता काट्ने र वाल बनाउने काम भइरहेको जनाइएको छ।

पूर्वी खण्डको कामका लागि थियो। एकचालीस दशमलव ४५ किमी यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिने छन्। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्सट्रक्सनले पाएको थियो।

सडक चौडा पार्ने क्रममा निस्किएका निर्माण सामग्रीमा स्थानीय तहबाट रोयल्टी माग भएको साथै निर्माण सामग्री ढुवानी गर्दा प्रत्येक स्थानीय तहलाई ढुवानी शुल्क तिर्नुपर्ने अवस्था रहँदा आयोजनाको काममा केही समय ढिलाइ भएको थियो। अहिले उक्त समस्या समाधान भएको बताइएको छ।

विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो। पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५/२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौँडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।

राजमार्गको विस्तारको काम सुस्त भएपछि केन्द्र र प्रदेश सरकार सभामा यसको विषयमा ध्यानाकर्षण गराइएको छ। यसअघि भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले पनि चिनियाँ कम्पनीलाई समयमै काम सपन्‍न गर्न ताकेता गरेका छन्।

राजमार्ग विस्तारका क्रममा काम ढिलो हुँदा राजमार्गको यात्रा कष्टकर बनेको छ। वर्षातको समयमा राजमार्गको हिलोका कारण गन्तव्यसम्म पुग्‍न निकै सास्ती व्यहोर्नु परेको छ।

प्रतिक्रिया दिनुहोस