पाकिस्तानको तोरखाम सिमा नाका बन्द हुँदा सयौं ट्रक अलपत्र

इस्लामाबाद— पाकिस्तान र अफगानिस्तान बीचको महत्वपूर्ण सीमा नाका तोरखाम बन्द हुँदा यात्रुहरू अलपत्र परेका छन् भने अत्यावश्यक वस्तु बोकेका सयौं सवारी साधन दुवैतर्फ फसेको एआरवाई न्यूजले उल्लेख गरेको छ ।

ट्रकमा रहेका तरकारी र फलफूल बिग्रिएको व्यवसायीले बताएका छन् । स्रोतहरू उद्धृत गर्दै एआरवाई न्यूजले पाकिस्तान र अफगान अधिकारीहरूबीच तोरखाम सीमा बन्द गर्ने विषयमा छलफल भएको बताएको छ। तर, दुई पक्षबीचको वार्ता भने सफल हुन नसकेको स्रोतले जनाएको छ ।

सीमामा नयाँ पोष्ट निर्माण गरेपछि झडप भएपछि अफगानिस्तान–पाकिस्तान सीमा बन्द गरिएको छ ।

पाकिस्तानी र अफगान तालिवान सेनाले एक अर्कामा गोली हानाहान गर्न थालेपछि बुधबार व्यस्त तोरखाम सीमा नाका बन्द गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। सेप्टेम्बर ११ मा, अफगानिस्तानको नान्गाहारमा मानिसहरूले तोरखाम सिमा नाका बन्द गरेकोमा विरोध प्रदर्शन गरे।

फलफूल र तरकारीको सिजनमा पाकिस्तानले विभिन्न बहानामा तोरखाम नाका नियमित बन्द गरेको प्रदर्शनकारीले बताएका छन् ।

प्रदर्शनकारीहरूले अफगान र पाकिस्तानी अधिकारीहरूलाई आफ्नो राजनीतिक मतभेद कूटनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस