एकै परिवारका बुबा र ३ छोरा पाइलट, एकै ककपिटमा बसेर उडाउछन जहाज, राखे ६५ हजार घण्टा विमान उडाएको रेकर्ड

काठमाडौँ, १६ असार । “अरुहरुले जे सकिँदैन भन्छन्, हामी त्यो सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने ठान्छौ । काम गर्न नचाहनेले मात्रै यस्ता तर्क गर्छन् । अगाडि बढ्न चाहनेले कहिल्यै सकिँदैन, हुँदैन, सम्भव छैन भन्दैन । नेपालमा काम गर्नुपरेपछि यस्ता तर्क गर्नेहरु भने धेरै भेटिन्छन्’’ कुराकानीको शुरुआत नै यसरी भयो । पाइलटहरुको एउटा परिवार । शुरुमा पिता अनि तीनभाई छोरा पनि बुबालाई पछ्याउँदै पाइलट । संसारमा यस्तो संयोग पनि कमै जुर्छ होला । तेस्रो पुस्तालाई समेत सोही पेशामा लगाउने सोच छ त्यो परिवारको छ ।

यो पाइलट परिवारले झण्डै ६५ हजार घण्टा विमान उडाएको रेकर्ड समेत बनाएको छ । त्यही रेकर्ड बनाएको परिवारको दोस्रो पुस्ताको जेठो सदस्य हुनुहुन्छ सुवास रिजाल । नेपालको राष्ट्रिय झण्डा बोकेर उड्ने नेपाल वायु सेवा निगम आफैमा गर्विलो विरासत बोकेको संस्था हो । काठमाडौँको नयाँ सडकको ढोकैमा आकाश भैरवको प्रतिमा शिरमा राखेर ठडिएको यो संस्थाले राजनीतिक उतारचढाव धेरै भोग्यो । सोही संस्थाले दिएको नाम र कामसँग नङमासु जसरी जोडिएको छ रिजाल परिवार ।

धनकुटाबाट विराटनगर हुँदै काठमाडौँ आइपुगेको रिजाल परिवारले बनाएको प्रतिष्ठा धेरैका लागि लोभलाग्दो पनि छ । पिता गंगाप्रसाद रिजाल निगमका वरिष्ठ पाइलट हुनुहुन्थ्यो । उहाँ लामो समय सेवा गरेर हाल अवकाश जीवनमा रमाइरहनु भएको छ । उहाँका तीन भाई छोरा नै पाइलट हुनुहुन्छ । अहिले त उहाँहरु पनि वरिष्ठ भइसक्नुभयो । कुनै समय थाइ एयरलाइन्ससँग जोडिएर आउँथ्यो, निगमको नाम । शाही नेपाल वायु सेवा निगमबाट शुरु भएको यात्रा नेपाल वायु सेवासम्म आइपुग्दा झनै खस्किएको छ । झनै खुम्चिएको छ भन्दा अन्यथा हुदैन होला । विदेशी एयरलाइन्सको धमाधमको कमाइका अघिल्तिर निगमको गन्तव्य भने सीमित छ । सीमित मात्र होइन झन खुम्चिँदै गएको छ ।

देशभित्रै निजी वायुसेवा प्रदायकले दैनिक दर्जनौँ उडान भर्दा, निगमका जहाज घाम पानी थापेर विमानस्थलमा ग्राउण्डेड हुन बाध्य छन् । आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाज उड्न सक्छ, सम्भव छ भन्नेहरुका कुरा सायदै सुनिन्छ । पछिल्लो पटक त निगमले ती जहाज व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरिसकेको छ । अन्तर्राष्ट्रिय उडानमा रहेका दुई न्यारोबडी र दुई वाइडबडीका पनि आ–आफनै कहानी छन् । निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले आँट गरेर जहाज नल्याएको भए आज निगम विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ्मा मात्रै सीमित हुन्थ्यो भनेर टिप्पणी गर्नेहरु पनि उत्तिकै छन् ।

निगमलाई धेरै अगाडि बढाउन सकिन्छ, यहाँ त हुँदैन, सकिदैन भन्ने मान्यताले काम गरेको छ । जसले हुँदैन र सकिदैन भन्छन् उनीहरुलाई नै निगमको खास जिम्मेवारी दिइएको आरोप पनि लाग्ने गरेको छ ।नेपालको हवाई उड्डयन व्यवसाय रु ९५ अर्ब भन्दा माथिको छ जसमा नेपालमा स्थापित सबै वायुसेवाहरुको कूल हिस्सा रु २० देखि २५ अर्ब मात्र रहेको छ । हामी सबैले कसैको पनि कुभलो नचिताई स्वस्थ प्रतिस्पर्धा गरेरै अघि बढ्दा सम्वृद्धि हाँसिल गर्न सकिने सकारात्मक मत पनि छ ।

निगमका वरिष्ठ पाइलट समेत रहनु भएका सुवास भन्नुहुन्छ “उच्च व्यवस्थापनमा रहेकाहरुले जे कुरा सम्भव छैन भनिरहनु भएको छ, त्यो कुरा हामी सम्भव छ भनेर देखाउन सक्छौँ । हामीमा आँट छ, गर्ने ल्याकत पनि छ ।” सबैतिर बन्द भएको उडान तत्कालीन अवस्थामा सुगतरत्न कंसाकार महाप्रबन्धक भएको समयमा शुरु भएको थियो । सुवासको बुझाइमा सन् २०१६ देखि २०१८ को बीचमा झण्डै ४० गन्तव्यमा उडान शुरु भएको थियो । सो समयमा सुवास निगमको अपरेशन डाइरेक्टर हुनुहुन्थ्यो । त्यसपछि झनै गन्तव्य थपिनुपर्ने थियो ।

नयाँ नयाँ जहाज पनि थपिनुपर्ने थियो । अवस्था भने ठिक विपरित भएर गएको छ । आन्तरिक उडानका लागि भनेर ल्याइएका चिनियाँ जहाज घाम तापेर, बर्षा सहेर बसेको छ । भएका दुई वटा ट्वीनअटर जहाजले कुन कुन गन्तव्यमा उडान भरोस् । निजी विमान कम्पनीले धमाधम उडान भरीरहँदा निगमका जहाज भने पखेटा काटिएको चरा जस्तै रहन किन बाध्य भयो त ? सुवासको टिप्पणी छ “यो पनि सकिदैन, त्यो पनि सकिदैन, हुँदैन भन्ने मान्यताले निगममा घर गरेको छ । यो प्रवृत्तिलाई बदलेर, सकिन्छ, हुन्छ, गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरिए सबै कुरा सम्भव छ । हामी सम्भव बनाउन सक्छौँ ।”

“जहाज उडाउने भनियो, पाइलट छैन भनिन्छ, इन्जिनियर छैन भनिन्छ, अर्कोलाई दोष लगाउन थालिन्छ तर म यो काम गर्छु, यसरी सम्भव छ भनेर कोही कसैले पनि तयारी गरेको देखिएन । बरु राम्रा काम गरेकालाई हिलो छ्याप्ने काम गरियो”, वरिष्ठ क्याप्टेन सुवास भन्नुहुन्छ “जसलाई संस्थाको भन्दा अन्यत्रैको माया छ भने कसरी निगम उभो लाग्छ ।” गुनासै गुनासाका पोका मात्रै होइन, हामीसँग निगमलाई अगाडि बढाउने मास्टर प्लान पनि छ । खुम्चिएर बसेको निगमलाई फुकाउने, व्यवसायिक कार्ययोजनाका साथ अगाडि बढ्ने सोच पनि छ । विगतमा अगाडि बढाइएका सकारात्मक कार्ययोजना पूरा गर्ने हो भने निगमले चोला फेर्न धैरै पर्खनुपर्ने छैन ।

सुवासको भनाइ छ “जे हुदैन, सम्भव छैन भनिन्छ त्यो काम सम्भव छ, गर्न सकिन्छ । निगम पनि अन्य व्यवसायिक निजी कम्पनीभन्दा अब्बल बनाउन सकिन्छ । प्रतिस्पर्धी बनाउन सकिन्छ ।” हुन पनि हो । काम गर्दा भन्दा नगर्दा नै फाइदा भएपछि किन मानिसले दुःख गरोस् ? अहिले निगममा भएको पनि त्यही हो । सायद यसैले हुनसक्छ उहाँको आक्रोशपूर्ण अभिव्यक्ति देखिन्छ बेलाबखतमा ।

कोरोनाको विपदमा उद्धार गर्नु पर्दा निगमको जहाज चाहिएको छ । स्वास्थ्य सामग्री ल्याउनु परेको छ, जहाज त फेरि पनि निगमको नै चाहिन्छ तर निगमलाई व्यवसायिक बनाआँै भन्ने सन्दर्भ कहीँ कतैबाट आयो भने, कोही जिम्मेवारी लिन तयार नभएको उहाँको गुनासो छ । किनकी त्यहाँ जवाफदेही हुनुपर्छ । निगम बनाउँछु भनेर आएका एकाध बाहेक अधिकांशसँग जवाफदेहिता छैन भन्ने आफूले देखेको सुवासको भनाइ छ ।
‘आपत विपदको समयमा काम लाग्ने भनेकै आफ्नाहरु हुन्’ नेपाली समाजमा यो भनाई लोकप्रिय छ । कुनैपनि सार्वजनिक संस्था स्थापना गर्नुको पछाडि पनि यही सामाजिक चरित्रले काम गरेको छ तर निगमलाई आम जनताको संस्था बनाउनेतर्फ कोही कसैले सोचेका छैनन् जस्तो देखिनु आफैमा दुःखद छ ।

प्रतिक्रिया दिनुहोस