विश्वमै अत्यन्त दुर्लभ मानिएको ‘ब्ल्याक प्यान्थर’ काभ्रेमा भेटियो

धुलिखेल । नेपालमा विश्वमै दुर्लभ ब्ल्याक प्यान्थर फेला परेको छ । काभ्रेमा वयस्क ब्ल्याक प्यान्थर मृत अवस्थामा फेला परेको हो । काभ्रेजिल्लाको पलाञ्चोक भगवती नजिकै चार पिपलमा ब्ल्याक प्यान्थर मृत अवस्थामा स्थानीयले फेला परेका हुन् । यसबारेमा जिल्ला वन कार्यालय काभ्रेले थप अनुसन्धान शुरु गरेको छ ।

चितुवा वर्गमा पर्ने कालो चितुवा अर्थात ब्ल्याक प्यान्थर एसिया र अफ्रिका लगायतका जंगलमा पाइन्छ । तर यो अत्यन्त दुर्लभ वन्यजन्तुमा पर्दछ ।

१०० वर्षपछि खिचियाे दुर्लभ कालो चितुवाकाे तस्वीर

यस्तै विश्वमै अत्यन्त दुर्लभ मानिएको कालो चितुवा अफ्रिकाको केन्याको एक जंगलमा देखा परेको थियो । दशकौँसम्मको खोज-अनुसन्धान गर्दा पनि स्पष्ट प्रमाण फेला पार्न नसकिएको दुर्लभ कालो चितुवा एक फोटोग्राफरले आफ्नो लेन्समा प्रष्ट देखिनेगरी कैद गर्न सफल भएका थिए ।

समाचार एजेन्सीहरुका अनुसार अफ्रिकी क्षेत्रमा पाइने सो कालो चितुवालाई बेलायती फोटोग्राफर विल बुरार्ड-लुकासले आफ्नो डीएसएलआर क्यामेराबाट उच्च गुणस्तरीय तस्वीर खिचेका छन् । करिब १०० वर्षसम्म कसैले पनि सो चितुवाको गुणस्तरीय तस्वीर खिच्न नसकेकोमा पहिलोपटक बुरार्ड लुकासले आफ्नो फ्रेममा कैद गर्न सफल भएका हुन् ।

सो दुर्लभ तस्बिरलाई सोमबार मात्र सार्वजनिक गरिएको थियो । केन्याको Laikipia Wilderness Camp क्षेत्रमा साे तस्वीर खिचिएकाे हाे । त्यस अासपास कालो चितुवा देखा पर्ने गरेको खबर त्यहाँका स्थानीयहरुबाट थाहा पाएपछि नै फोटो पत्रकार बुरार्ड त्यहाँ पुगेका थिए । उनले चितुवा आउने सम्भावित बाटोहरुको ठाउँ-ठाउँमा क्यामरा राखेका थिए । यसको केही दिनमा नै रातिको समयमा सो कालो चितुवालाई बुरार्डको क्यामराले कैद गर्न सफल भयो ।

यो दुर्लभ तस्वीर खिच्न सफल भएपछि उनले भनेका छन् ‘कुनै ठूलो अपेक्षाबिना नै मैले अन्तिम क्यामरा परीक्षण गरिरहेको थिएँ । यसैबीच नियालेर हेर्दा मैले अँध्यारोमाझ दुइटा बलिरहेका आँखा देखेँ । पहिले त ती आँखा कालो चितुवाका नै हुन् भन्नेमा मैले विश्वासै गरेको थिइनँ ।’ उनले आफ्नो तस्वीरलाई जीवनकै उपलब्धिमूलक भनेका छन् । बाल्यकालदेखि नै कालो चितुवाको तस्वीर लिने आफ्नो धोको रहेको बताउँदै उनले सो धोको बल्ल पूरा गरिसकेकोमा औधी खुसी लागेको बताएका छन् ।

बेलाबेला चर्चामा अाइरहने अफ्रिकन कालाे चितुवाकाे अस्तित्व प्रमाणित गर्न १०० वर्षयता गुणस्तरीय तस्बिर खिच्न सकिएकाे थिएन । यसअघि १९०९ मा अडिस अबाबा, इथियोपियामा यसको प्रष्ट तस्वीर लिइएको थियो । साे तस्वीर हाल वासिङटन डिसीस्थित राष्ट्रिय संग्राहलयमा राखिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस