“बलिउडका चर्चित गीतकार भिख माग्दै दैनिकी चलाएको थाहा पाएपछि नेहाले गरिन ठुलो सहयोग, स्टेजमा चल्यो रुवाबासी”

सोसल मिडियाका अनेकन प्लेटफर्ममा आजभोलि बिभिन्न सेलिब्रेटी को उदय भएको छ । ‘सोसल मिडिया’को शक्ति र प्रभावकारितालाई नजरअंदाज गर्ने जस्तासुकै महाशक्तिका लागि आउने दिन निश्चय पनि सहज हुने छैन ।

खासगरी ‘बिग हाउस मिडिया’ र स्थापित सत्तापक्ष–प्रतिपक्ष दलका राजनीतिज्ञहरुका लागि सोसल मिडियाका माध्यमहरु यस्तो शत्रुका रुपमा उदाउँदै गइरहेका छन्, जसको मुकाबिला वा मर्दन गर्ने सामथ्र्य परम्परागत सोच र शैली बोकेका उपर्युक्त दुबै वर्गसँग कम्तिमा अहिलेसम्म देखिएको छैन ।

जुन गीत गाएर रानु फर्शबाट अर्शमा पुगिन्, त्यससँग सम्बन्धित गायक मुकेश, संगीतकार द्वयमध्येका एक लक्ष्मीकांत शांताराम कुडालकर जीवित छैनन् । गायिका लता, अर्का संगीतकार प्यारेलाल रामप्रसाद, गीतकार सन्तोष आनन्द र अभिनेता मनोजकुमार वृद्धवयको जीवनयापन गर्दैछन् ।

अनेकौं कर्णप्रिय सुप्रसिद्ध गीत लेख्ने सन्तोष आनन्दको नाम नयाँ पुस्ताका लागि अपरिचित हुनसक्छ । १९७० मा प्रदर्शित भएको फिल्म पुरब और पश्चिमको गीत ‘पुरवा सुहानी आइ रे’ बाट फिल्मी गीत लेखनमा प्रवेश गरेका सन्तोष आनन्दले यसपछि थुप्रै फिल्मका लागि गीत लेखे । रोटी कपडा और मकान, क्रान्ति, प्यासा सावन, प्रेमरोग, गोपीचन्द जासुस, मेरा जबाब, सन्तोष, सूर्या, नागमणि, तहलका, तिरंगा, प्रेम आँगन लगायत थुप्रै फिल्मका लागि सन्तोष आनन्दले कलम चलाए ।

‘मैं ना भुलुँगा’ गीतका लागि उनले पहिलो पटक फिल्मफेयर अवार्डको सम्मान पाएका थिए । उनले २६ वटा फिल्मका लागि १०९ वटा गीत लेखे ।

जिन्दगी की न टुटे लडी, चना जोर गरम, अब के बरस तुझे धरती की रानी कर देगे, उइ समासा उइ देजा प्यार जरा सा, हाय हाय यह मजबुरी, और नही वस और नही, मेघा रे मेघा रे, मुहब्बत है क्या चीज कोई हमको बताए, मारा ठुमका बदल गयी चाल, तेरा साथ है तो मुझे क्या कमी है, यह प्यार था या कुछ और था, ओ मेरी छम्मक छल्लो, मै हुँ प्रेमरोगी, ये गलिया ये चौबारा यहाँ आना ना दोबारा जस्ता भावगम्य गीत लेखेका सन्तोष आनन्द अहिले अत्यन्त स’कसपूर्ण जीवन बिताइरहेका छन् । चरम आर्थिक अभावले उनको अवस्था निकै कम्जोर छ ।

५ मार्च १९४० मा उत्तर प्रदेशको बुलन्द शहर जिल्लाको सिकन्दरावाद भन्ने स्थानमा जन्मिएका ८० वर्षीय सन्तोष आनन्दले ४७ वर्ष पहिले लेखेको गीत ‘इक प्यार का नगमा है’ ले रानु मंडलको भाग्य परिवर्तन गरिदियो तर कवि स्वयंको भने…

उनका लागि जीवन भने महेन्द्र कपुरले स्वर दिएको उनले लेखेकै गीत– और नही वस और नही, गम के प्याले और नही, दिल मे जगह नही बाँकी, रोक नजर अपनी शाकी झैं चरितार्थ भइरहेको छ । आजीविकाका लागि सानातिना कवि गोष्ठी डुल्दै गरेका ८० वर्षीय सन्तोष आनन्दलाई मुफलिसी (गरिबी)को दलदलबाट माथि उकास्न को अतिन्द्र चक्रवर्ती प्रकट हुन्छ ?

प्रतिक्रिया दिनुहोस