प्रधानमन्त्री पत्नी आरजुले बालुवाटारमा रोपिन तुलसी

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवाले तुलसी रोपेकी छन्। आज परेको हरिशयनी एकादशीको अवसरमा उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तुलसी रोपेकी हुन्।

सामाजिक सञ्जालमा तस्बिर ‘पोस्ट’ गर्दै आरजुले लेखेकी छन्, ‘जय तुलसी माता! आज हरिशयनी एकादशी पर्वमा प्रधानमन्त्री निवासमा तुलसी रोपेर माताको आशिर्वाद लिइयो। हरिशयनी एकादशीको मंगलमय शुभकामना।’प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर-घरमा तुलसीको बिरुवा रोपी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु भएको छ।

एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ। सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।

हरिशयनी एकादशीको बारेमा थप जानकारी-वैदिक सनातन हिन्दु पात्रो ‘पञ्चाङ’ अनुरुप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्रवटा समान समय भागमा बिभाजन गरिएको छ र चन्द्रको प्रत्यक चलायमान समय भागलाई तिथी भनिन्छ ।

चन्द्रको अवस्थिती अनुसार तय गरिएको तिथीको एघारौं दिनलाई एकादशी भनिन्छ ।वैदिक सनातन हिन्दु धर्ममा एकादशीलाई भगवान बिष्णुको उपाशनागर्ने दिनका रुपमा लिइन्छ । भविष्योत्तर पुराण्मा एकादशीहरुको महिमा प्रष्टसँग वर्णन गरिएको छ । ब्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ ।

भर्खरै एउटा विदेशी स्वास्थ अध्यन केन्द्रले गरेको अध्ययनमा समय समयमा व्रत बस्नाले स्वास्थ राम्रो हुने र अध्यात्मिक शुद्धिसम्म हुने पुष्टि भएको छ । सनातन धर्म र रितीहरु यस हिसाबले कति वैज्ञानिक छन् भन्ने पनि पुष्टि पनि गर्दछ ।अषाढ शुक्लपक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रुपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ ।

श्रृष्टिकर्ता भगवान हरि अर्थात विष्णु यस एकादशीबाट चार महिनाका लागी क्षीर सागरमा सुत्न जाने हुँदा यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी र असारे एकादशी पनि भनिन्छ । यस एकादशीमा सुतेका हरि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाईन्छ ।

यस एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वाश रहिआएको छ । ‘भविष्योक्तरा’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यस एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि भनेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस