अन्तत पल शाहलाई थुनामा पठाउन तनहुँ जिल्ला अदालतको आदेश (भिडियो सहित)

नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ । तनहुँ जिल्ला अदालतले अभियुक्त शाहलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो । तत्काल प्राप्त प्रमाणबाट आरोपी कसूरदार देखिएको भन्दै अदालतले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

अदालतको आदेशबाटै पललाई जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा पठाइएको छ । मतियारका रुपमा मुद्दा दायर गरिएका पल शाहका म्यानेजर कृष्ण जोशीसँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।बलात्कारको उजुरी परेपछि पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए भने पटक पटकको म्याद थप गरेर अनुसन्धानपछि चैत ८ गते मुद्दा दायर भएको थियो ।

नाबालिग किशोरीले जबरजस्ती करणीको आरोप लगाउँदै फागुन ११ गते उनीविरुद्ध जाहेरी दिएकी थिइन् । तनहुँको शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएकाले तनहुँ पुगेर शाहविरुद्ध उजुरी दर्ता गराएकी थिइन् । उनीविरुद्ध गैँडाकोटमा पनि सोही प्रकृतिको मुद्दा छ ।

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ । पलले आफूलाई विवाह गर्ने प्रलोभनमा पारेर त्यस्तो सम्बन्ध राखेको हुनाले कानुनी कारवाहीको माग गर्दै ती गायिकाले बुधबार कार्यालयमा उपस्थित भएर शाह विरुद्ध जाहेरी हुन् ।

प्रतिक्रिया दिनुहोस