पलाञ्चोक भगवती मन्दिरबारे रोचक जानकारी

काभ्रेपलाञ्चोक : पलाञ्चोक भगवतीको मन्दिर राजधानी शहर बाट काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेल हुदै पाँचखाल भन्दा अलि अघि लामीडाँडा बजारबाट उकालो लागेपछि पलान्चोक भगवती मन्दिर पुग्न सकिन्छ । काठमाडौंबाट ५२ कि.मि. दुरीमा रहेको पलाञ्चोक भगवती मन्दिर पुग्न सडक सुविधा छ । यस मन्दिरको महिमा र शक्तिको कृति टाढाटाढा सम्म फैलिएको पाइन्छ । वैशाख पूर्णिमा र कार्तिक पूर्णिमामा भव्य मेला लाग्ने यहाँ टाढाटाढाबाट भक्तजन आउने गर्दछन् ।

साँच्ची नै धार्मिक पर्यटन स्थल बन्ने सम्भावना रहेको छ ।यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन्। शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतिको मूर्ति अद्दितीय मानिन्छ। नक्शाल भगवती र शोभा भगवती अनि पलाञ्चोक भगवती एकै शिल्पकारले तयार गरेको किंवदन्ति रहेको छ। “अचम्म त के छ भने उक्त मूर्ति एउटै ढुङ्गाबाट बनेको“छ । यसमा कुनै रसायन प्रयोग गरिएको छैन ।

अठार वटा हात भएकी, विभिन्न अस्त्रशस्त्रहरूले सुसज्जित, चाँदीका गरगहना र मुण्डमाला पहिराइएकी पलान्चोक भगवतीको ठूलो महिमा एवम् श्रद्धा छ । देशमा छरिएर रहेका अनेकन शक्तिस्थल मध्ये साक्षात देवीको रुपमा पुजिने यहाँ निश्वार्थ मनले पूजा तथा आरधना गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलान्चोक भगवतीलाई मान्ने गरिन्छ । भगवतीको पाउले दायाँ र बायाँ चण्ड एवम् मुण्ड र बीचमा महिषासुर दैत्यको ढाडलाई कुल्चिएको भगवतीको आकर्षक मूर्ति पश्चिमाभिमुख छ ।

यसकोे पुरात्वातिक एवम् ऐतिहासिक पक्ष
पलान्चोक भगवती मन्दिरको स्थापना लिच्छवि राजा मानदेवले गरेका हुन् । विक्रम संवत् ४२५ को लिच्छविकालीन अभिलेखहरूमा राजा मानदेवले यस मन्दिरको स्थापना गरेको उल्लेख गरिएको छ । । नेपालका अन्य अभिलेखहरूमध्ये यहाँको अभिलेखलाई पुरानो मानिएको छ । यो मन्दिर अलौकिक र अनुपम् कलाकौशलले भरिपूर्ण तथा आकर्षित रहेको छ ।

सुनको जलप लगाइएको पित्तलको गजुर भएको प्यागोडा शैलीको तीनतले यस मन्दिरका दुवै छाना तामाका छन् भने टुँडाल र झ्यालहरू कलात्मक काठका रहेका छन् धातुले नै मोडिएका ढोकाहरू छन् । मन्दिरको वरिपरिको भाग पाटीपौवा, धर्मशाला, त्रिशूल, घन्टा र अन्य देवदेवीका मूर्तिहरूले भरिपूर्ण छ ।

मध्यकालको प्रारम्भमा यस जिल्लाका सात वटा स्थानहरू– चण्डेश्वरी नजिको बनेपुर बनेपा, प्रयाग तीर्थनेर पानवती (पनौती), नाला भगवतीनेर (नाला), नारायण तीर्थनेर धौखेल (धुलिखेल), धनेश्वरनजिकै श्रीखण्डपुर (खड्पु), चकोट ऋषिको आश्रमनेर (चौकोट) र नासिकास्थान पीठनेर (साँगा)ले विशेष महत्व पाएकाले विकसित हुने अवसर पाएका थिए ।

मानदेव प्रथमको शासनकालमा स्थापित पलान्चोक भगवती मन्दिर मध्यकालमा एउटा प्रमुख गढको रूपमा थियो । जयसिंह राय वर्धनलाई जयस्थिति मल्लले सामन्त अर्थात शासक बनाएपछि उनको परिवारको प्रभुत्व कायम भयो । उनको भतिजा शक्तिराम वर्धन त्यहाँको सामन्त रहेका बेला चीनका बादशाहले निजलाई वांग पदवी दिएर दौत्यसम्बन्ध कायम गरेका थिए ।

यक्ष मल्ल परलोक भएपछि उनका छोराहरूले राज्य टुक्र्याउन थाले । त्यसैले रण मल्लद्धारा बनेपामा एउटा स्वतन्त्र राज्य खडा गरियो । यसरी निजको मृत्युपछि सो राज्य भादगाउँअन्तर्गत गाभिएकाले सात गाउँ नै भक्तपुरको अधीनमा गयो । केही भाग मात्र कान्तिपुरअन्तर्गत रह्यो ।

यस मन्दिरमा दर्शनार्थ काठमाडौं लगायत नेपालका विभिन्न स्थानबाट प्रत्येक शनिबार र मंगलबार श्रद्धालु भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ ।

वि.सं. २०३२ मा तत्कालीन सरकारले यस पलान्चोक भगवती मन्दिरको जीर्णोद्धार गरेका थिए । यस मन्दिरको केही पर काली र गणेशका मन्दिरहरू पनि रहेका छन् । यो मन्दिर यस स्थानमा कसरी स्थापना भयो भन्ने रोचक लोकोक्तिहरू छन् ।

काभ्रे जिल्लाको पलान्चोक भगवती स्वदेश र विदेशमा रहेका हिन्दुहरुका लागि प्रसिद्ध शक्ति पीठ हो । लिच्छवीकालीन भगवतीको यो मूर्ति अत्यन्तै सुन्दर छ । काठमाडौं उपत्यकास्थित शोभा भगवती, नक्साल भगवती, दक्षिणकाली पछाडि यो शक्ति पीठमा जीवनको एकपल्ट प्रत्येक हिन्दु होस् वा प्रत्येक नेपालीले एकपल्ट पुग्नैपर्ने हुन्छ । देशमा छरिएर रहेका अनेकन शक्तिस्थल मध्ये साक्षात देवीको रुपमा पुजिने र निश्वार्थ मनले पूजा गर्दा मनोकामना पुरा हुने देवीको रुपमा पलान्चोक भगवतीलाई मान्ने गरिन्छ ।

किंवदन्ती
यस पलान्चोक भगवतीलाई काभ्रेकै बुचाकोट भन्ने ठाउँबाट ल्याइएको हो भनाइ छ । बुचाकोट भगवती, पलान्चोक भगवती, नाला भगवती र नक्साल भगवती दिदी बहिनी हुन भन्ने विश्वास छ । यी चारै देवीका मूर्ति एउटै कालीगढले अलगअलग हात र खुट्टाले बनाएका हुन् भन्ने किंवदन्ती छ । एक भगवतीको मूर्ति बनाइ सकेपछि अर्को त्यस्तै नबनोस् भनेर तत्कालीन समयमा कालीगढको हात काटिएको थियो ।

उसले हात नभए पनि नाला र नक्साल भगवती मुर्ति खुट्टाले बनाएको किम्वदन्ती छ । बनाएका मूर्तिमध्ये बुचाकोटबाट पलान्चोक भगवतीको मूर्ति अन्य ठाउँमा ल्याउँदै थिए । त्यस ठाउँमा राती बास बसेपछि मूर्ति पनि त्यहिँ राखेछन् । भोलिपल्ट बोकेर हिँड्न लाग्दा मूर्ति उठाउन नसकेर भगवतीले यहि ठाउँमा बस्ने इच्छा गरेकाले त्यहि प्रतिस्थापन गरिएको भनाइ छ । पलाञ्चोक भगवतीलाई त्यहीँ राखी मन्दिर बनाएर पूजा गर्न थालियो । 

प्रतिक्रिया दिनुहोस