पाकिस्तानको निजी कोइला खानीमा आगलागी हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

इस्लामावाद— पाकिस्तानको बलुचिस्तानको डुकी कोइला क्षेत्रको एक निजी खानीमा आगलागी हुँदा दुई कोइला खानी कामदारको मृत्यु भएको छ भने तीन जना घाइते भएको पाकिस्तानको स्थानीय पत्रिका डनले उल्लेख गरेको छ।

तीन हजार ५ सय फिट गहिराइमा काम गरिरहेका पाँच जना कामदार खानीभित्र रहेको इन्जिनमा आगलागी भएको थियो । डनका अनुसार आगलागीका कारण खानीमा काम गर्नेहरू फसेका थिए र खानी जलेर नष्ट भएको थियो।

खानी निरीक्षक मकसुद अहमदले आगलागीको सूचना पाएलगत्तै उद्धार टोली घटनास्थलमा पुगेको बताए । अहमदका अनुसार उद्धार टोलीले फसेका कामदारहरूलाई उद्धार गर्न अभियान सुरु गरेको छ।

उनका अनुसार घटनास्थलबाट दुई खानी मजदुरको मृत्यु भएको छ भने तीनजना जलेर घाइते भएका छन् ।

अहमदले मृतक खानी कामदारहरूको पहिचान अब्दुल्ला र बरखातुल्लाह भएको र उनीहरू अफगानिस्तानका नागरिक भएको डन पत्रिकाले उल्लेख गरेको छ। अहमदका अनुसार घाइते सैद जान, रुजुद्दिन र मतिउल्लाहलाई उपचारका लागि दुकी अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस